Logo

समाचार

भारतबाट १५० मेगावाट विद्युत् किन्न प्राधिकरणले माग्यो प्रस्ताव



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रस्ताव मागेको छ।

प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको हो।

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले भारतका क्याटागोरी–१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमतिपत्र प्राप्त कम्पनीहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिने प्राधिकरणले जनाएको छ।

बोलपत्र दस्तुरबापत भारतीय रुपैयाँ १२ हजार ५०० वा सो बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, बोलपत्रदाताले प्रस्ताव गरेको कुल विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्नेछ।

प्राधिकरणका अनुसार बोलपत्रसम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिनेछ। इच्छुक कम्पनीले सोही पोर्टलमार्फत विद्युतीय रूपमा प्रस्ताव पेस गर्नुपर्नेछ।

प्राविधिक प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिनेछ। प्रस्ताव खोल्ने समयमा उपस्थित हुन चाहने बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि सहभागी हुन सक्नेछन्।

प्राप्त प्रस्तावमध्ये कुनै एक वा सबै प्रस्ताव स्वीकार अथवा अस्वीकार गर्ने अधिकार प्राधिकरणले आफूसँग सुरक्षित राखेको जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १३:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।