नेकपाको २९ मंसिरदेखि ६ पुससम्म चलेको स्थायी कमिटी बैठकका निर्णयको जानकारी र कार्यान्वयनका लागि १० पुसमा ‘अन्तरपार्टी निर्देशन–३’ जारी गर्यो । सातबुँदे निर्देशनको चौथो नम्बरमा पार्टी कार्यालय निर्माणबारे लेखिएको छ, ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ । देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन ।’
अर्थात् धुम्बाराहीमा आफ्नो मुख्यालयलाई लिएर उठेका प्रश्न र भएका विवादमा नेकपा सचेत देखिएको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार धुम्बाराही पार्टी कार्यालयको मासिक भाडा एक लाख छ । कार्यसम्पादन र मनोवैज्ञानिक सन्देश दुवैलाई ध्यान दिएर नेकपा स्थायी कमिटीको यस बैठकले अविलम्ब आफ्नै पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माण गर्ने निष्कर्ष निकालेको छ ।
स्थायी कमिटीको निर्णय हेर्दा नेकपालाई आफ्नै कार्यालय बनाउन हतार छ । त्यसो भए फिल्डमा चाहिँ के भएको छ ? बल्खुस्थित मदननगरमा आधुनिक सुविधा सम्पन्न पार्टी कार्यालय बनाउने तयारी सुरु भएको छ । तत्कालीन एमालेको सात रोपनी क्षेत्रफलमा फैलिएको पार्टी कार्यालय १२ वैशाख ०७२ मा भूकम्पले भत्किएपछि पुनः त्यहीँ ठाउँमा नयाँ भवन बनाउने नेकपाको योजना छ ।
एकीकृत पार्टीका सबै निकाय अटाउने गरी सुविधायुक्त भवन निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन कम्पनीलाई दिइएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए । ‘पार्टीको केन्द्रीय कार्यालय बल्खुमा बनाउने सहमति भएपछि डिपिआर बनाउन दिएका छौँ,’ ढकालले भने , ‘त्यसपछि कस्तो डिजाइनको भवन बन्छ, कति तला, भवन वरिपरि कस्तो साजसज्जा हुन्छ सबै खुल्छ ।’ डिपिआर तयार भएलगतै भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाने ढकालले बताए ।
डिपिआर निर्माणका लागि तीन कम्पनीलाई जिम्मा दिएको छ । ‘सरकारी बजेट वा अन्य कुनै दाताबाट सहयोग लिदैनौँ । पार्टीको अन्तरिक स्रोत परिचालन गरेर भवन निर्माण गर्नेछौँ,’ कार्यालय सचिव ढकालले भने, ‘स्वेच्छिक रूपमा पार्टीका, सांसद, नेता, पार्टी सदस्य, सुभेच्छुक, समर्थकलगायतबाट सहयोग लिन्छौँ ।’ वरिष्ठ नेता खनालले पार्टी अध्यक्षसहित सचिवालय सदस्य, विभाग प्रमुखको कार्यकक्ष अनि पार्टीका विभाग र जनवर्गीय संगठन अटाउने गरी फराकिलो भवन निर्माण गरिने बताए । सभा–सम्मेलन गर्ने हल, स्वदेशी–विदेशी पाहुनाकक्ष, पत्रकार कक्षलगायत सुविधायुक्त भवन बन्नेछ । पार्किङका लागि अन्डरग्राउन्ड मात्रै दुईतलाको बनाइनेछ ।
कार्यालय निर्माणलाई तीव्रता दिन भवन निर्माणका लागि नयाँ समिति बनाइने भएको छ । तत्कालीन एमाले पार्टी कार्यालय भूकम्पले भत्किएपछि ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति बनाएको थियो । एमाले–माओवादी पार्टी एकतापछि एकीकृत पार्टीको कार्यालय थप परिस्कृत रूपमा निर्माण गर्नुपर्ने भएको पुरानो समिति निष्क्रय भएको बताउँदै खनालले भने, ‘पार्टीको आफ्नै जग्गा हुँदाहुँदै भाडामा चलाउनु राम्रो हुँदैन, अब निर्माण समिति बनाएर कार्यालय निर्माणलाई तीव्रता दिन्छौँ ।’
नयाँ भवनको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले संयुक्त रूपमा छिट्टै शिलान्यास गर्ने तयारी भइरहेको महासचिव विष्णु पौडेलले बताए । ‘हामीले बल्खुमा आधुनिक सुविधासम्पन्न पार्टी कार्यालय बनाउने निर्णय गरिसकेका छौँ,’ पार्टी कार्यालय बनाउन आफूहरू हतारमै रहेको बताउँदै पौडेलले भने, ‘डिपिआर तयार भएलगतै दुवै अध्यक्षज्यूले पार्टी कार्यालय शिलान्यास गर्नुहुनेछ ।’ नयाँ पत्रिकाबाट





















प्रतिक्रिया