Logo

पत्रपत्रिका

छाउगोठ : प्रशाासन भत्काउँछ,स्थानीय बनाइहाल्छन्



अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्बा थापाको छाउगोठ गत महिना जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘घरनजिकै मन्दिर छ, छाउगोठ भत्काएपछि सर्प आयो । घरनजिकै फराकिलो गोठ बनाएका छौं,’ उनले भनिन् ।

मोतीकला थापाले पनि पुरानो छाउगोठ भत्काएपछि ४० हजार खर्च गरी नयाँ बनाइन् । त्यो पनि ३ दिनअघि जनप्रतिनिधि र प्रहरीको टोलीले भत्कायो । उनले भनिन्, ‘पुरानो गोठ भत्काए, गाउँमा गोठ भत्काउन आउनेले घरनजिकै बस्न–सुत्न मिल्ने खालको नयाँ बनाउँदा हुन्छ भनेपछि ४० हजार खर्च गरेर बनाएँ ।’

घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाएको उनले बताइन् । सोही गाउँकी शारदा थापाले ३० हजार खर्च गरेर नयाँ छाउगोठ बनाएकी छन् । ‘नयाँ गोठ पुरानो भन्दा राम्रो थियो, प्रहरी र जनप्रतिनिधिलाई नभत्काउनू भनेर आग्रह गर्दा पनि मानेनन् । घर साँघुरो भएपछि ऋण काढेर नयाँ बनाएँ’, उनले भनिन् ।

पातलकोट गाउँ छाउगोठ मुक्त घोषणा हुने तयारीमा छ । वडामा यसअघि १ सय २० छाउगोठ भत्काइएको थियो । एक महिनापछि अनुगमन गर्दा १७ वटा नयाँ छाउगोठ भइसकेको फेला पर्‍यो ।

नयाँ गोठ पनि प्रहरीले भत्काइसकेको छ । प्रहरी पुराना छाउगोठ भत्काउँदै हिँडेको छ । तर स्थानीय घरनजिकै धमाधम बनाइरहेका छन् । साँफेबगर नगरप्रमुख कुलबहादुर कँुवरले पुराना छाउगोठ भत्काएको एक महिनामा महिनावारी भएका बेला बस्नकै लागि पुनर्निर्माण गरिएका १७ गोठ भत्काइएको बताउँछन् । उनले भने, ‘पुराना र नयाँमा केही फरक छैन । महिनावारी भएका बेला बस्न भनेर बनाएका सबै भत्काएका छौं ।’

अछामका जनप्रतिनिधि छाउगोठ भत्काउने अभियानमा केन्द्रित छन् । नगरको महत्वपूर्ण कामबाहेक अन्य काम थाती राखेर कुप्रथा अन्त्य गर्ने अभियानमा लागेको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका वडाअध्यक्ष कृष्ण बुढाले बताए । उनले भने, ‘टोलटोलमा पुगेर जनचेतना सँगसँगै गोठ भत्कायौँ। कतिपय कुट्नसमेत आए । गाली खायौं, तर पनि अभियानमा लागेकै छौं ।’

मंसिरमा छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतको टोल सिद्धेश्वर डिक्रेनी एक साताअघि छाउगोठ मुक्त घोषणा भएको छ ।

बझाङमा पनि उस्तै

बझाङमा पनि प्रशासनले भत्काएको छाउगोठ फेरि बनाउन थालिएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका वंश खड्काले बुहारी सुत्केरी हुने समय नजिकिएकाले गोठ बनाइरहेको बताए । उनको घरमा रहेको सुत्केरी र महिनावारी हुँदा बस्ने छाउगोठ केही दिनअघि प्रहरी प्रशासनले भत्काएको थियो ।

‘छाउगोठ भत्काएपछि बुहारीलाई कहाँ राख्ने भन्ने चिन्ताले बनाएका छौं’, खड्काले भने ।

बझाङमा सुत्केरी महिला १९ दिनसम्म छाउगोठमा बस्ने चलन छ । छाउगोठमा बस्ने सुत्केरी बीसौँ दिन नुहाईधुवाई गहुँत खाई घर प्रवेश गर्छन् । लत्ताकपडा, शरीर र नवजात शिशुको शरीरमा पनि गहुँत छर्केपछि सुत्केरी शुद्ध भएको मानेर घरभित्र प्रवेश गराउने प्रचलन छ । प्रहरीले यो गाउँमा १५ वटा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काए पनि गाउँलेले सुत्केरी र महिनावारी हुने महिलाका लागि घरनजिकै वैकल्पिक छाउगोठ बनाइरहेका छन् ।अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।