Logo

पत्रपत्रिका

सुत्केरी भोकभोकै, खोइ राहत ?



संगीता सादा ४५ दिनकी सुत्केरी हुन्। उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ। तर, उनले नुनरोटी पनि खान पाएकी छैनन्। आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन्। महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ। सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन।

राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ। गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए। चैत १६ गते प्रदेश सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराउन गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख उपमहानगरलाई २० लाख, महानगरलाई २५ लाख दिने निर्णय गरेको थियो।

प्रदेश २ को अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रकम पठाइसकेको छ। स्थानीय तहलाई पनि रकम थप्न भनिएको थियो। वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे (सम्पन्न)लाई पारेपछि विवाद चर्किएको छ ।

निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीताजस्ता सुत्केरीको घरमा राहत पुगेको छैन। प्रदेश २ मा २५ लाख गरिबको संख्या छ।

कहिले आउँछ राहत ?

‘सबैतिर काम बन्द छ। घरबाहिर गयो प्रहरीले लखेट्छ। घरमा अन्न छैन। के खाउँ ? ’ संगीताका श्रीमान् सञ्जय सदाले भने, ‘झन् छोरीलाई खुवाउन कठिन भयो। आमाले खाना खायो भने मात्र नानीले दूध पाउँछ। डेढ महिनाकी छोरी आमाको दूध खान नपाएर चिच्याउँछिन्। सरकारले दिने भनेको चामल–दाल कहिले आउँछ ? ’

कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नहुँदा खानेलाई छाक टार्न धौधौ छ। फुलकाहाकै सुत्केरी अनिता सदालाई पनि छोरा आशिकलाई हुर्काउन समस्या छ। कमाउन भारतको पञ्जाब गएका श्रीमान् रामजी उता भोकै छन्। यता ललितालाई पाँच महिनाको दूधे बालक हुर्काउन कठिन बन्दै छ। खान नपाउँदा आमाको दूध सुकिसकेको छ।

उनका थप दुई सन्तान ५ वर्षका दीपक र ७ वर्षीया छोरी चाँदनीलाई खाना जुटाउनै समस्या छ। ‘घरमा चामल छैन, बच्चालाई के खुवाऊँ’, उनले भनिन्, ‘हातमा पैसा छैन, पसलले पनि उधारो दिँदैन। कहाँबाट खानेकुरा जोहो गरौं। सरकार, हामी भोकै मरौं ? ’

महँगीले आकाश छोयो

अनिताको छिमेकी लालोदेवी सदाको परिवारमा ८ सदस्य छन् । कमाउने एक जना मात्रै। एक वर्षको काखे छोरी मनिका छिन्। लालोदेवी भन्छिन्, ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौं।’

अहिले पहिलेको तुलनामा तीन गुणा महँगी बढेको उनले सुनाइन् । ‘कमाइ हुँदा हामी पालिएका थियौं। अहिले आम्दानी छैन। महँगीले अकाश छोइसक्यो’, उनले भनिन्, ‘अहिलेको बन्दले हामी भोकभोकै भयौं। सरकारले हामीलाई कम्तीमा खानेकुरा पठादिए त हुन्थ्यो नि !’ अन्नपुर्ण पोष्टबाट ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।