Logo

भीम रावललाई प्रधानमन्त्रीको जवाफ : एमसीसी अलपत्र छोड्न मिल्दैन !



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसद भीम रावललाई जवाफ दिएका छन् । नेता रावलले पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजेको आरोप लगाएका थिए । मंगलबार दुवै सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका थिए ।

‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ । यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ प्रधानमन्त्री ओलीले भने ।

एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताए । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ ।

‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्‍यो, सम्झौता गर्‍यो । यो एमसीसी अहिले सरकारले सम्झौता गरेको होइन । अलपत्र छोड्न मिल्दैन । कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्छ,’ उनले भने, ‘अहिले पनि छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने कि नगर्ने । संसदले निर्णय गर्न सक्छ । यो संसद्को सम्पत्तिका रूपमा आइसकेको छ । संसदले निर्णय गर्नुपर्छ । ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १५:२१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।