Logo

साहित्य

लघुकथा-गाई र बाघ



मानिस पस्नै नसक्ने घनघोर जङ्गलमा अरू जङ्गली जनावरसँगै गाई र बाघ पनि बस्दा रहेछन् । हरियो घाँसको लोभले गाई चरन खोज्दै खोज्दै टाढै पुगेछ । घाँस खोज्दै चहार्ने क्रममा एक्कासि गाईले बाघ देखेछ । बाघलाई देखेर आत्तिएको गाईले निकै बेर यताउता हेरेछ । स्तब्ध भएर उभिएको गाई अलि पर पछिल्तिरतिर रहेको पोखरीतिर हतपत दौडेछ ।

पोखरीमा पानी त सङ्लै थियो तर दलदल भरिएको भास रहेछ । गाई त्यहीँ दलदलमा भासिएछ । गाई पोखरीमा बसेको देखेर भोकाएको बाघ मुख मिठ्याउँदै ” कहाँ जालास् मछली मेरै ढडिया ” भन्दै पोखरी तिरै गएछ ।

बिस्तारै बिस्तारै बाघ पनि गाईको लोभले बाहिर नै निस्कन नसक्ने दलदलमा गाई जस्तैगरि फसेछ । बाघ दलदलमा फसेको देखेर गाईले बाघलाई सोधिछे,

“ए बाघ भाइ ! यो जङ्गलको राजा को हँ ? ”
बाघले गर्झदै भनेछ,
” म यहाँ जिउँदै हुँदाहुँदै तेरो यत्रो फुर्ती !”
” म हुँ यहाँको राजा ।”
” तँलाई के गर्न पर्‍यो र सोधिस् हँ ?”
बाघले भए भरको दम्भ पोख्दै गर्जेछ ।
गाईले बाघतिर हेर्दै शालीन भएर भनिछे,
” हामी दुवै यो पोखरीको दलदलमा फसी हाल्यौँ ।”
” मेरो त घरमा मालिक छन्, एक छिन ढिला भए नि लिन आइ हाल्छन् । ”
” यसरी भासिएको देखेपछि जसरी नि निकालेर लगि हाल्छन् । ”
” तिमीलाई गाह्रो पर्ला भनेर मायाले सोधेको नि ! तिमी किन रिसाएको ? ”
भनिछे ।

त्यसो भन्दा भन्दै गाईको मालिक आइपुगेछ र गाईलाई पोखरीबाट अनेकौँ उपाय लगाएर निकालेछ । निकालेर जिउमा लागेको हिलो पुछ्दै सुमसुम्याउँदै घरतिर लगेछ । यसरी स्नेह पूर्वक दलदलबाट निकालेर माया ममता देखाउँदै लगेको देखेर बाघ रिसले मुरमुरिँदै तलमाथि हल्लिँदै यता र उता गर्न थालेछ । रिसले चुर भएर बलपूर्वक हल्लिदा हल्लिँदै दलदलभित्र निस्कनै नसक्नेसरि गाडिएछ । दम्भ देखाउँदा देखाउँदै बाघको हाडखोड त्यहीँ पोखरीको दलदलमै गलेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।