सुरु गरियो मेरो फुङवाचाङ्मा
कसो कसो मुक्कुम्भुङ भइसकेको रहेछु,
त्यै त तिम्लाई कान्छी
अर्कै आकारले हेर्न थालेथ्यें
तिम्रा जवानीको फूलहरूमा आँखा ठोकिन थालेको हो
कद मिलेर, बैंस मिलेर या त संयोग हो,
स्कूल पढ्न जान्थ्यौं, एउटै बाटो भएर हगि !
बाटैभरि टिपेर पातमा
अघि–अघि हाम्रो नामको विचमा प्लस थप्दै जानु
रिस्साएर तिम्रा लिम्बूनी झोंक देखाउंदै
कुरकुचाले बेस्सरी पात किच्याउँनु
साँचीकै उधुम मच्चाएंथ्यें तेतिबेला
बेन्चिमा तिमी उठेर बस्नेबेला
मैले डटपेन ठाडो पारिराख्नु
तिमी चिच्याउँदै उफ्रिन्नु
कक्षा कोठाभरी सबै हाँसेर बिल्ला गर्नु
यो मजाक थियो या त बदमासी
कसलाई सोधुँ ? मलाइ केहि थाहा छैन !
स्कूल जाँदा र आउँदा जहिले
साथीहरूको ग्याङ छोडेर
सेण्डिल चुडिएको वाहानामा पछिपछि रहनु
घरी खुट्टा चिलाएझैं र कन्याएझैं गरेर पछी रहनु
गर्मि भएको वाहानामा हम्किन्दै उभिन्नु
म आइपुग्दा कुदेर जानु
साथीहरूको छेउमा पुगेर फनक्क फर्केर मुस्कुराउँनु
मैले संसारकै एकमात्र महासुन्दरी देख्नु
उफ्प !
बाटाभरिका पातहरू सबै पातलिनु
हतारमै टिपेर नामको विचमा प्लस लेखौं है भन्या
स्याउली सम्झेर टिपेको पात सिस्नुको हुनु
थामी नसक्नु भएर चिच्याउँदै उफ्रिन्नु
तिम्ले सिँगान दलेर हात फुकिदिनु
‘थाङबेन मान्छे पनि रोइन्छ ?’ भन्दै तिमी जिस्किनु
म लाजले भुतुक्क हुनु
भुइँचालो थियो या त प्रेमिल तरंग
कसलाई सोधुँ ? मलाइ केहि थाहा छैन !
एकदिन अचानक मेघ गर्जेर
घरको मुल थाममा बज्रपात परेपछि
तिम्रो मुगलान यात्राको तय हुनु
बदमास एजेन्टले आधाबाटोमै हराईदिनु
ऋणको ब्याजको स्याज स्याजको प्याज फल्न थाल्नु
बैंकको लिलामी र तिमी हराएको हुलिया एउटै अखबारमा हुनु
विचरा म ! टोलाउँन सिवाय के पो गर्न सकूँ र !
धेरै बसन्त अम्लारीफुङहरू फुलेर ओइलिए
तिम्रो बाटो कुर्दाकुर्दै जीवनको उत्तरार्धमा उभिएको छु
आकासबाट तारा खस्दा मागेको पाइन्छ रे
कयौं बसन्त आकाशको ताराहरू रुँगेर बसेँ
कान्छी !
ताराहरू सबै बादलले छेलिदियो ।
कवितामा प्रयोग भएका केहि लिम्बु शब्दका अर्थ
फुङ्वाचाङमा – किशोर अवस्था पार गरेपछि गरिने अनुस्ठान
मुक्कुम्भुङ – जवानीको प्रतिक फूल
थाङ्बेन – युवा
अम्लारीफुङ– सुनाखरी, प्रेमको प्रतिक फूल





















प्रतिक्रिया