सर्लाहीका कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो मुठभेठमै भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । गृहले गठन गरेको छानबिन समितिले घटनामा प्रहरीको कुनै गल्ती नभएको रिपोर्ट बुझाएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनपछि गृह मन्त्रालयले उपसचिव दीपक नेपालको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिले आइतबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन आइतबार नै राज्य व्यवस्था समितिमा समेत पठाइएको छ ।
‘पौडेल सधैँ पेस्तोल बोकेर हिँड्थे’
गत ५ असारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा उनीमाथि गोली प्रहार भएको थियो । पक्राउ गरेर उनलाई गोली हानिएको आशंका सत्तारुढ दलकै सांसदहरूले समेत छानबिनको माग गरेका थिए ।
संसद्को राज्य व्यवस्था समितिले छानबिन गर्न निर्देशन दिएपछि गृहले उपसचिव नेपालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । जसमा सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका डिएसपी र गृहकै कानुन अधिकृत सदस्य थिए । समितिले घटनास्थलमै पुगेर रिपोर्ट बनाएको हो ।
प्रतिवेदनमा पौडेल लामो समयदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीका व्यक्ति भएको र उनी सधैँ पेस्तोल बोकेर हिँड्ने व्यक्ति भएको उल्लेख छ । पौडेलसँगै रहेका व्यक्तिले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको उल्लेख गरिएको छ । स्रोतका अनुसार प्रतिवेदनमा प्रहरीले गोली चलाउनै पर्ने अवस्था रहेको उल्लेख गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सो छानबिन समितिको प्रतिवेदनको निष्कर्षबारे आफूलाई जानकारी नभएको बताए । घटनास्थलमा भेटिएको पेस्तोल पौडेलकै भएपछि उनले गोली नै चलाएको आधार भने छानबिन समितिले दिन नसकेको स्रोत बताउँछ । छानबिन समितिले पौडेलले गरेका अपराधको विस्तृत विवरणसमेत उल्लेख गरी उनीबाट सर्लाहीका सर्वसाधरणसमेत आतंकित रहेको उल्लेख गरेको छ ।
सर्लाही गोलीकाण्डबारे राष्ट्रिय मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको छ । आयोगको प्रारम्भिक प्रतिवेदनमा भने गोली चलाउनैपर्ने अवस्था नदेखिएको स्रोत बताउँछ । प्रत्यक्षदर्शी कोही नभएको र सो स्थानमा प्रहरीले कसैलाई जान नदिएकाले पनि घटना शंकास्पद बनेको हो । मुठभेडका नाममा गोली हान्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीको आलोचना बढिरहेको छ ।
गृहको अर्को छानबिन समिति
गृहले सर्लाहीको अर्को घटनाको पनि छानबिन समिति बनाएको छ । गत १५ असारमा ईश्वरपुर नगरपालिका–१३ श्रीपुरका २५ वर्षीय सरोजनारायण महतोको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । बालुवा निकालेको खाल्डोमा डुबेर श्रीपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको विषयमा आइतबार प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । जसमा महतोको मृत्यु भयो भने अरू घाइते भए ।
प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेको भन्दै आलोचना भएपछि गृहले उपसचिव कमल ढकालको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । गोली लागेर राजकुमार महरा घाइते भएका थिए । नगरपालिकाले खाल्डो खनेर त्यसै छाड्दा बालकको मृत्यु भएको भन्दै सर्वसाधारणले आन्दोलन गरेका थिए ।
नयाँ पत्रिकाबाट





















प्रतिक्रिया