उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिए पनि हिमालपारिको जिल्ला मनाङ पुग्न काठेपुलको भर पर्नुपर्छ । लमजुङ–मनाङ सडकखण्डमा पक्की पुल नबन्दा मनाङ आउजाउ गर्ने यात्रु जोखिम मोलेर काठको पुल प्रयोग गर्छन् ।
लमजुङ र मनाङको सिमाना म्यार्दी खोलादेखि सडकको अन्तिम बिन्दु मनाङको खाङसारसम्मका सबै खोलामा काठका पुल मात्रै छन् । यी पुल पनि मनाङवासीले नै स्थानीय साधन, स्रोत प्रयोग गरेर बनाएका हुन् । खोलाहरूमा हरेक वर्ष काठेपुल निर्माण गर्नुपर्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनी भन्छन्, ‘पक्की पुल छैन, काठका पुल हरेक वर्ष बग्छन् ।’
यो सडकखण्डका म्यार्दी खोला, तिमाङ छहरा, तिमाङ गाउँको पुछारमा रहेको स्याल्कु खोला, थानचोकनजिकैको स्याक्र्यु खोला, पिसाङ, सब्जे खोला, भ्राकास्थित मुङेज, थोराङ खोलामा काठका पुल छन् । यातायातका साधन यिनै पुलबाट आवतजावत गर्छन् । म्यार्दी खोलामा पक्की पुल निर्माण गरिएको थियो, तर ८ असारको बाढीले बगाएको छ । यसअघि सेनाले सडक निर्माणका वेला बनाएको काठेपुलबाटै अहिले मनाङ ओहोरदोहोर गर्ने यातायातका साधन गुडिरहेका छन् । सेनाले सडक विभागलाई सडक हस्तान्तरण गरेको सात वर्ष बितिसक्दा पनि कुनै स्थानमा पक्की पुल निर्माण गर्न नसकेको चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाको गुनासो छ ।
काठकै पुलबाट दैनिक ३० सवारीसाधन
लमजुङ–मनाङ सडकखण्डमा दैनिक ३० वटा सवारीसाधन आवतजावत गर्छन् । सवारीचालक सोम मगरातीले भने, ‘कहिलेसम्म काठेपुलकै भरमा आवतजावत गर्नुपर्ने हो । हिउँदका वेला खोला घटेर बाटो सहज भए पनि बर्खामा भेल आउँदा समस्या हुन्छ ।’ चामेकी मेलिना गुरुङका अनुसार मनाङको बाटो आफैंमा कठिन छ । त्यसमा पनि पक्की पुल नहुनु र भएका काठका पुल पनि बर्सेनि बगाउने समस्याले सास्ती झेल्नुपरेको उनको भनाइ छ ।
६५ किलोमिटर लम्बाइको लमजुङ–मनाङ सडकखण्डको यात्रामा दैनिक समस्या हुने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनी भन्छन्, ‘सवारीचालक, यात्रु स्वयंले सडक मर्मत, सफा गर्दै यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कतिपय ठाउँमा त सडक पूरै बन्द हुने गरेको छ ।’
नयाँपत्रिका दैनिक बाट





















प्रतिक्रिया