Logo

पत्रपत्रिका

लोकसेवालाई विज्ञापन रद्द गर्न दबाब ,परीक्षा केन्द्रमै गएर प्रश्नपत्र च्यात्ने चेतावनी



स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न ९ हजार १सय ६१ कर्मचारीको माग गर्दै सो विज्ञापन खुलाइएको हो । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले आरक्षण बचाऔं आन्दोलन मार्फत सो प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका छन् ।

सो प्रदर्शनीमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगता भएका नागरिकहरुको सहभागिता रहेको छ । यसअघि काठमाडौंको सुन्धारा, भृकुटीमण्डप, थापाथली र बानेश्वरबाट माइतीघर मण्डलासम्म ¥याली निकालिएको थियो । सो प्रदर्शनमा टाउकोमा रातो कपडा बाध्नुका साथै ब्यानर र पर्चा बोकिएको थियो ।

आन्दोलनकारीहरुले विज्ञापन रद्द गरी पुनः सच्याएर विज्ञापन गर्नुपर्ने माग राखेका छन् । आयोगको विज्ञापन अघि बढाइए परीक्षा केन्द्रमा प्रदर्शन गर्ने प्रश्नपत्र च्यात्ने सम्मको चेतावनी दिइएको छ । यसअघि राजधानीमा उनीहरुले मसाल जुलुस, सिठ्ठी जुलुस निकालेका थिए । यसैको विरोधमा साउन २ र १० गते नेपाल बन्दको घोषणा गरिएको भए पनि बाढी पहिरोका कारण बन्द स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए ।

नेपाल समाचारपत्रबाट

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ०१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।