Logo

पत्रपत्रिका

बेथितीको अखडा बन्दै स्थानिय सरकार, जनप्रतिनिधी नै सर्वोपरी



स्थानिय तह बेथितीको अखडा बन्दै गएको छ । विगतका साहुमहाजन जस्तै स्थानिय जनप्रतिनिधी र सर्वसाधारणमाथि प्रशासकीय अधिकृतले राज गर्न थालेका छन् । यो सामाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

नागरिकले ‘बेथितिको अखडा बन्दै स्थानीय सरकार’ शीर्षक दिएर छापेको समाचारमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतले जे भन्यो जनप्रतिनिधिले त्यही मान्नुपर्ने अवस्था सिर्जना भएको छ । उपत्यकाको हकमा घर भएका जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखहरुले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएकोे, अधिकृतहरुको मनोमानीका कारण सेवाग्राही मर्कामा परिरहेको, अधिकृतहरु नियमित कार्यालय नजाने र गएको दिन पनि ढिलो गरी पुग्ने गरेको र समय अगावै कार्यालयबाट निस्किने गरेको जस्ता प्रवृत्तिका कारण सेवाग्राही, मातहतका कर्मचारी र जनप्रतिनिधिसमेत हैरान परिसकेको विभिन्न घटनाहरु रहेका छन् ।

काठमाडौंको थानकोटबाट दैनिक ५५ किलोमिटर दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्ने ललितपुरको महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे २६ कात्तिक २०७६ मा गोटीखेलस्थित गाउँपालिकाको कार्यालयमा नभएको दिनपनि हाजिर लगाउने गरेका छन् । गाउँपालिका उपाध्यक्ष कमला तामाङका अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे सातामा दुई–तीनपटक मात्र कार्यालय आउँछन् र आएको दिन नआएका दिनको पनि हाजिरी गर्छन्। ‘मन्त्रालयले पठाएका कर्मचारीसँग काम गर्न सारै गाह्रो भइरहेको उनको गुनासो छ।

ललितपुरकै बाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन्। त्यहाँबाट भट्टेडाँडास्थित गाउँपालिका कार्यालयको दूरी झन्डै ५० किलोमिटर छ भने कम्तीमा तीन घन्टामा कार्यालय पुग्न सकिन्छ । त्यसैले उनी नियमित कार्यालय जाँदैनन्। निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखिदिन्छन्। उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन्। कात्तिक १४ गते दिउँसो १२ बजे कार्यालय पुग्दा उनको कोठा चकमन्न थियो। सूचना अधिकारी मिलन शर्मा भन्दै थिए, ‘उहाँ टाढाबाट आउनुपर्ने भएकाले ढिलो भएको हो।’

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत बस्ने सुनाकोठी घरदेखि ३५ किलोमिटर कच्ची बाटो पार गरेर कार्यालय पुग्न उनलाई साढे दुई घन्टा लाग्छ। कात्तिक १४ गते दिउँसो ३ बजे गाउँपालिका कार्यालय पुग्दा उनी भेटिएनन्। गाउँपालिकाका इन्जिनियर दिनेश सञ्जेलले प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको सुनाए।
काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी भक्तपुरको लोकन्थलीका बासिन्दा हुन्। उनको घरदेखि कार्यालयको दूरी करिब ४५ किलोमिटर टाढा पर्छ। भण्डारी हप्तामा चार दिनभन्दा बढी कार्यालयमा भेटिँदैनन्। पाँचखाल वातावरण बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवाल भन्छन्, ‘सेवाग्राही १० बजेदेखि हाकिम कुरेर बसेका हुन्छन् तर हाकिमसाप १२ बजेअघि कार्यालय छिरेको देखिएको छैन। यस्ता थुप्रै घटनाहरु नागरिकले छापेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।