Logo

खेलकुद

१३औं सागः भारत एक्लो बादशाह, समापन आज, १४औं साग पाकिस्तानमा



दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणको समापन औपचारिक समारोहका बिच मंगलबार हुँदैछ । १३औं सागको समापन समारोहबाटै पाकिस्तानलाई १४औं साग आयोजनाको झण्डा हस्तान्तरण हुनेछ ।

साउथ एशियन ओलम्पिक काउन्सिलको सोमबारको बैठकले १४औं साग आयोजनाको जिम्मा पाकिस्तानलाई दिने निर्णय गरेको हो । काउन्सिलका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सातै राष्ट्रका ओलम्पिक कमिटीका प्रतिनिधिको सहभागिता थियो ।

१३औं सागको अन्तिम दिनसम्म आईपुग्दा भारत दक्षिण एशियाली खेलकुदमा एक्लो बादशाहको रुपमा देखिएको छ । सागको अन्तिम दिन मात्र ५ खेलको नतिजा बाँकी रहँदाको अवस्थासम्म आईपुग्दा भारत १५९ स्वर्ण पदकसहित कुल २९४ पदकसहित तालिकाको शीर्षस्थानमा आसिन रहँदा सागको इतिहासमा ऐतिहासिक प्रदर्शन गरिरहेको नेपाल केवल ४९ स्वर्णसहित कुल १९५ पदक लिएर दोस्रो स्थानमा छ । पहिलो स्थानको भारत र दोस्रो स्थानको नेपालका बिचमा ११० स्वर्णको फरक छ । तेस्राे स्थानमा श्रीलंका छ ।

त्यस्तै अहिलेसम्म प्रतियोगितामा अरु टिमले जितेको स्वर्ण पदकभन्दा भारत एक्लैले १९ स्वर्ण पदक धेरै जितेको छ । अर्थात दक्षिण एशियाका अरु राष्ट्रले समग्रमा १४० स्वर्ण पदक जित्दा भारत एक्लैको हालसम्म १५९ स्वर्ण पदक प्रयाउँदै सागमा आफ्नो दबदबा कायम गरेको छ ।
अरुजस्तै १३औं साग पनि भारत भर्सेज अरु दक्षिण एशियाली राष्ट्रका रुपमा रहेको छ । भारतलाई नजिकबाट टक्कर दिने कुनै दक्षिण एशियाली राष्ट्र अझै केही संस्करणको सागमा समेत देखा पर्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।