Logo

पत्रपत्रिका

‘चुपचाप’ पूर्वमाओवादी : नेताहरूको मौनतामा प्रचण्ड चकित



लाभ–हानिको हिसाब : नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे । तर, ती नेता तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि चुपचाप छन्, मौनता साधेर लाभ–हानिको आकलन गरिरहेका छन् । पूर्वमाओवादी नेताहरूको मौनता देखेर प्रचण्ड पनि चकित छन ।

भविष्यको आकलन : ‘माओवादी समूहका नेताहरूले ढुक्कसँग आफ्नो कुरा राख्न नसक्नुको मतलब सबै कुरा प्रचण्डको हातमा छैन । प्रचण्डको पछि लागेर मात्रै हुँदैन भन्ने बुझेका छन । जोखिम छ, जोखिम मोल्न उनीहरू तयार छैनन । नेतृत्वमा ओली हाबी भइराखेका छन् । अप्ठ्यारो पर्यो भने प्रचण्डले मात्रै जोगाउन सक्दैनन् भन्ने परेको हुन सक्छ । त्यो भएपछि बोल्न गाह्रो हुन्छ ।’

तत्कालीन माओवादीमा हुँदा शक्ति बस्नेत राजनीतिक–वैचारिक बहस गर्ने नेताका रूपमा चिनिन्थे । तर, झन्डै डेढ वर्ष भयो उनी पार्टीको विचार, विधि–विधान र संगठनात्मक दाउपेचको बहसमा कतै देखिएका छैनन, सुनिएका छैनन । वन तथा वातावरण मन्त्रालय सम्हालेका नेकपाका स्थायी समिति सदस्य बस्नेत नेकपाको ‘घनाजंगल’ मा लगभग ‘बेपत्ता’जस्तै छन । मन्त्री बस्नेतको जस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पनि नेकपाको आन्तरिक जीवनबारे धेरै बहसमा छैनन । विभागीय मन्त्रालय मार्फत ‘ऊर्जा’ निकाले पनि उनले पार्टी जीवनमा धेरै ‘ऊर्जा’ खर्च गरेका छैनन ।

पार्टीका विधि–विधान र विचारबारे स्थायी समिति सदस्यसमेत रहेका पुनले कतै सार्वजनिक बहस गरेको पाइन्न ।
मन्त्रीको जिम्मा पाएका मात्र होइन बाहिर बसेका पूर्वमाओवादीका अरू धेरै नेता पनि बहसमा छैनन । खेलमाथि रुचि राख्ने टोपबहादुर रायमाझी पनि नेकपाको आन्तरिक खेलमा सहभागी छैनन । मैदानमा उत्रेर होइन, दर्शकदीर्घामै बसेर रायमाझीले नेकपाभित्रको खेल हेरिरहेका छन । पूर्वमाओवादीको आन्तरिक जीवन र शक्ति संघर्षमा कहिले प्रचण्ड–बाबुराम त कहिले प्रचण्ड–बादललाई जोड्न भूमिका खेल्ने रायमाझी अहिलेचाहिँ ‘निस्क्रिय’ जस्तै छन । स्थायी समिति सदस्य रायमाझी वैचारिक–राजनीतिक बहसमा पनि खासै सहभागी छैनन ।

बस्नेत, पुन र रायमाझीजस्तै नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे । तर, ती नेता पार्टी एकतापछि चुपचाप छन । मौनता साधेर लाभहानीको राजनीतिक आकलन गरिरहेका छन । स्थायी समिति सदस्य रायमाझीले बोल्नका लागि परिस्थिति परिपक्क भइनसकेकाले चुपचाप बसेको सुनाए । ‘सरकारको जमेर समर्थन गर्ने अवस्था छैन । विरोध गर्नसमेत सकिँदैन । पार्टी त्योभन्दा फरक छैन ।’ रायमाझीले मौनताको कारण खुलाए, ‘जति पाकेको फल मीठो र रसिलो हुन्छ, कुरा पनि परिक्क हुँदै गएपछि राख्दा र बोल्दा राम्रो हुन्छ । वेला आएपछि आफ्ना कुरा राख्छु ।’

स्थायी समिति सदस्य मणि थापाले कुरा राख्दा पेलानमा परिन्छ भन्ने भएपछि कम बोलेको हुन सक्ने तर्क गरे । ‘धेरै कुरा राख्दा पेलानमा परिन्छ कि भन्ने पनि होला ।’ थापाले भने । आफूलाई लागेको विषयमा बोल्दा कहाँ परिन्छ भन्ने हिसाबकिताब गर्न नहुने थापाको भनाइ छ । यस्तै, स्थायी समितिका अर्का सदस्य हरिबोल गजुरेलले आफ्नो कुरा राख्नेरनराख्ने स्वभावमा समेत भर पर्ने बताए । ‘आफ्ना कुरा खुलेर राख्दा राजनीतिक दाउपेजमा तलमाथि पर्न सक्छ भन्ने पनि होला ।’ गजुरेलले भने, ‘नेता भएपछि विधि विधानमै टेकेर बोल्नुपर्छ भन्ने लाग्छ, जो मैले गर्दै आएको छु ।’ गजुरेलले २९ मंसिरदेखि ६ पुसम्म चलेको स्थायी समिति बैठकमा लिखित मत नै राखेका थिए ।

तर, नेकपामा पूर्वमाओवादीतर्फका सबै नेता चुप छन् भन्ने पनि होइन । स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी बैठकमा आफूलाई लागेको विषयमा बोल्ने गरेको दाबी गरिन । ‘हामीले आफ्ना कुरा बाहिर राख्ने कुरा भएन । पार्टी कमिटीमा राखेका छौँ ।’ भुसालले भनिन, ‘स्थायी समितिको बैठक नै एक वर्षमा बस्यो । आफ्ना कुरा कहाँ राख्नु ? आवश्यक कुरा बैठकमा राखिन्छ ।’ पार्टीका हरेक जसो निर्णय सचिवालयबाट हुने बताउँदै भुसालले माथिल्लो निकायबाट हुने निर्णयमा तल्लो कमिटीबाट बोल्न गाह्रो हुने बाध्यता सुनाइन । भुसालले पछिल्लो स्थायी समिति बैठकमा अष्टलक्ष्मी शाक्यसँग मिलेर विधान संशोधन प्रस्तावमा ९बुँदे लिखित सुझाब दिएकी थिइन । महिलाहरूको सहभागितालाई लिएर भुसाल र शाक्यले सुझाब दिएका थिए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ०३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।