लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने सर्लाही बरहथवा–१० सीतापुरका खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् ।
आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको हो । सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए । हरिपुर–१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए । केहीबेर प्रहरीसँगको भनाभनमा उनले हातपातको प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक राठौरले बताए । ‘रामबाबु भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर पक्राउ गरेको छ,’ डिएसपी राठौरले भने ।
रायलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया