Logo

अर्थ

नेप्सेमा ६ प्रतिशतले गिरावट, आजको बजार बन्द



शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएपछि मंगलबारको कारोबार स्थगित गरिएको छ । १ बजेर १३ मिनेटमैं नेप्से ६ प्रतिशतले ओरालो झरेपछि कारोबार स्थगित गरिएको हो ।

कोरोना त्रासका कारण संसारभरिका ठूला स्टक एक्सचेन्जहरूमा आएको भारी गिरावटलाई नेप्सेले पनि पछ्याएको देखिएको छ ।

बजारमा पहिरो जान थालेपछि मंगलबार तीन पटक सर्किट ब्रेकर लागेको थियो । १ हजार ४३५ अंकबाट खुलेको बजार १ हजार ३४९ विन्दुमा ओर्लिएको छ । अर्थव्यवस्थामा संकुचनको त्रासमा रहेका लगानीकर्ता हतास बन्दा बजारमा आपूर्तिमा चाप परेको थियो ।

सबै समूह नकारात्मक बनेको मंगलबार सबैभन्दा धेरै जीवन बीमा समूह ९.१ प्रतिशतले घटेको छ । ब्यांकिङ समूह पनि ६. ५८ प्रतिशतले ओरालो लागेको छ । मंगलबार रु. १ अर्ब ७ करोड ६६ लाख मूल्यका १६१ कम्पनीका शेयर किनबेच भएका थिए ।

सबैभन्दा धेरै नेको इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १०-१० प्रतिशत गुमाएका छन् । यद्यपि, एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताले ३.७६ प्रतिशत कमाएका छन् ।

१५ फागुनमा नेप्से १ हजार ६३२ अंकको उचाई छोएर लगातार ओरालो लागिरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।