Logo

अर्थ

गगन थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न राणाको माग



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले कांग्रेस सभापति गगन थापाको नाम जोडिएको अडियोको स्रोत र आधिकारिकताबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

फेसबुकमा लेख्दै राणाले इनम सापकोटाको ‘बयान’ भनिएको उक्त अडियो कहाँ, कहिले र कसले रेकर्ड गरेको हो भन्ने खुलाउन आग्रह गरेका छन्।

जनआस्थामार्फत सार्वजनिक भएको अडियोको मूल स्रोतबारे प्रश्न उठाउँदै राणाले सरकारले अनुसन्धानसम्बन्धी विवरण योजनाबद्ध रूपमा सार्वजनिक गरेर राजनीतिक चरित्रहत्या गर्न खोजेको आरोप लगाए।

अनुसन्धानका विवरण आफूले सार्वजनिक नगरेको प्रहरीको भनाइ रहेको उल्लेख गर्दै राणाले बरामद मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको नियन्त्रणमा पुगेको र त्यसमा रहेका संवाद मेटिएको भन्ने आरोपबारे पनि छानबिन गर्न माग गरे। ‘यी प्रश्न अनुत्तरित राखेर सरकार सुशासनको दाबी गर्न सक्दैन,’ उनले लेखेका छन्।

प्रतिपक्षसँग जोडिएका आरोप प्रचारमा आउने र सत्तानिकट व्यक्तिमाथि उठेका प्रश्न ओझेलमा पर्ने अवस्था स्वीकार्य नहुने राणाले बताएका छन्। ‘सबै आरोपको स्वतन्त्र छानबिन होस्, प्रमाण सुरक्षित राखियोस् र तथ्य सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।