गृह मन्त्रालयले कार्यालय परिचय पत्रको आधारमा बैंकका कर्मचारीलाई निर्बाध आवत—जावत गर्न दिन भनेको छ । मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु निर्वाध खुलेका छन्।
बैंकर्स संघका अध्यक्ष भुवन दहालले पनि आज हिड्न सहज भएको कारण निधार्रित बैंकहरु खुलेको बताए । ‘आज शाखा खोल्न अप्ठेरो परेको छैन, उपत्यकाभित्र ३० जना कर्मचारी मात्र परिचालन गर्न पाइन्छ भन्ने छ। त्यही अनुसार अहिले शाखा खुलेका छन्।’उनले भने ।
बैंकहरुले काठमाडौं, ललितपुर र भक्तपुरमा तीन शाखा कार्यालय खोल्न पाउने छन्। हेड अफिसको शाखा सञ्चालनमा आए त्यही स्थानको अर्को शाखा बन्द हुनेछ।
हेड अफिस भने सञ्चालन हुनेछ। हेड अफिसले जिल्लास्थित शाखादेखि आन्तरिक ट्रेजरी, आइटी, कार्ड, अनलाइन भुक्तानीमा सहजीकरण गर्नु पर्ने भएकाले खुल्ने भएको हो।
बिहीबार भने प्रहरीले बैंकका कर्मचारीलाई बाहिर निस्कन दिएको थिएन। बैंकका एक प्रमुख कार्याकारी अधिकृतलाई समेत बाटोमै रोकेपछि बैंकर्स संघले बिहीबार मुख्य कार्यालय बाहेकका सबै शाखा बन्द गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले समन्वयकारी भूमिका खेलेर शुक्रबारबाट बैंक खोल्न दिने वातावरण बनाएको हो।





















प्रतिक्रिया