Logo

प्रमुख समाचार

‘चेतन कार्की प्रतिष्ठान’ स्थापना, कलासंस्कृति, साहित्य र चलचित्र क्षेत्रको प्रवर्धन गर्ने



बिशिष्ट  गीतकार, कवि तथा बिशिष्ट चलचित्रकर्मी स्व.चेतन कार्कीको नाममा २०७८ भदौ १४ गते ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा विशिष्ट चलचित्रकर्मी एवं लेखक अभिनेता मोहन निरौला, महासचिव कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारश कार्की र पंकज कार्की रहेका छन् ।

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र कवि दिब्य गिरि रहेका छन् ।

विक्रम संवत् १९९५ मा बहाँटारी थुम, स्याङ्जामा जन्मिएका कार्कीको नेपाली कला, साहित्य, गीत संगीत तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धबीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । कार्कीले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ हो त्यसपछि मनका आखा, भूमरी , पहिलो प्रेम  रहेको छ । कार्कीले तत्कालीन प्रचार प्रसार विभागबाट वि सं २०२५ सालमा निर्माण भएको चलचित्र परिवर्तनमा स्कृप्ट लेखेर चलचित्रको यात्रा प्रारम्भ गरेका थिए ।

कार्कीले परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरु तथा कल्पना टूट चुकी है (कविता–हिन्दीरउर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रितीको चोखो कथा (गीत संग्रह), हत्केलालले सधैं भरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसि बियाँलो (कथा संग्रह), दिल जीगर के टुकडे (उर्दू बयाज) आदि रचना गरेका छन् ।

विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गरेका कार्कीले  रचना गरेका दर्जनौं गीतहरु अत्यधिक लोकप्रिय छन् । ती मध्ये तीजको रहर आयो बरी लै‘सर्वाधिक लोकप्रिय गीत रहेको छ । कार्कीले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका छन् । नातिकाजीको संगीत, तारा देवी र भुवन थापाको स्वरको ‘बोलाउँ भने लेख स्वर पुग्दैन‘’ चेतन कार्कीद्वारा रचना गरिएको पहिलो नेपाली गीत हो ।

यस्तै शाह वंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्य  के ? लगायत दर्जनौं नाटकहरु पनि कार्कीले लेखेका छन् ।

कार्कीद्वारा स्थापना गरिएको हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, कार्कीका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्यसहित प्रतिष्ठानको स्थापना गरिएको मोहन निरौलाले जानकारी दिए । कार्कीले नेपाली सस्कृति, कला र साहित्य तथा चलचित्र क्षेत्रमा पुर्याएको समग्र योगदानको प्रचार प्रसार गर्दै उच्च कदर गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।