Logo

कर्पोरेट फोकस

एनआरएनको चुनावमा परराष्ट्रको हस्तक्षेपः १० औँ महाधिवेशन अनिश्चित



गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । परराष्ट्रले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

परराष्ट्रको निर्देशनपछि संघको आगामी अक्टोबर २३-२५ मा काठमाडौंमा हुने १० औँ महाधिवेशन अब कहिले हुने भन्नेमा अनिश्चित देखिएको छ ।

विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी संघका सदस्यले परराष्ट्रमा निवेदन दिएका थिए । त्यसैको अधारमा परराष्ट्रले चुनावी प्रक्रियाको अनुगमन गर्न मन्त्रालयको नीति योजना विकास कुटनीतिक तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गर्नुभएको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको सो समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गरिएको जनाइएको छ ।

पत्रमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनोट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, डेनमार्क, पोर्चुगललगायत मुलुकमा समस्या रहेको जनाउँदै यही भदौ २४ गते मन्त्रालयमा निवेदन दिइएको उल्लेख छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १३:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।