जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले बताए । उनले भने,“हुलका हुल आउने बँदेलले गहुँलगायत अन्यबाली सखाप गर्न थालेको छ, बाली जोगाउन हामी रातभरि जाग्राम बस्न बाध्य छौँ ।”
खप्तड राष्ट्रिय निकुञ्ज तथा यहाँका महाभारतको लेक तेले क्षेत्रबाट आउने बँदेलको समूहले बालीनाली नोक्सान गर्न थालेको हो । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौँकी गाउँपालिकाका विभिन्न वडामा अहिले जङ्गली बँदेलेको समूहले गहुँलगायतका अन्य बाली खाएर हैरान बनाएको किसान बताउँछन् ।
शिखर–१ का किसान रामसिंह ऐरका अनुसार कम्तीमा पनि सात÷आठ वटाको समूह बनाएर आउने जङ्गली बँदेलेको समूहले एकैरातमा कम्तीमा पनि तीनदेखि चार रोपनी जमीनमा लगाएको बाली खाएर नोक्सान गर्ने तथा खेतनै खनेर जाने गरेका छन् ।
जङ्गली बँदेलको समूहले अहिले जिल्लाका विभिन्न स्थानमा लगाइएका बालीनालीमा नोक्सानी पुर्याउन थालेको खबर सबै निकायमा जानकारी हुँदासमेत नियन्त्रणका लागि कुनै क्षेत्रबाट पनि प्रयास नभएको किसानको गुनासो छ ।
उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जङ्गली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरे सबै मूल्याङ्कनका आधारामा रु १० हजारसम्म रकम दिने नियम रहेको बताए।




















प्रतिक्रिया