Logo

पत्रपत्रिका

देउवाको कारण कांग्रेस र सिंगो मुलुकलाई हानी पुगेको कांग्रेसकै नेताको आरोप



नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन् । पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन् ।

निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको भेटले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरूको बुझाइ छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए ।

सरकारले अहिलेसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै गठबन्धनका विभिन्न तहका नेताहरू छलफलमा जुटिरहे पनि अझै सरकारले पूर्णता कहिले पाउँछ भन्ने निश्चित भएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

त्यस्तै भेटमा अझै चार जिल्लाको क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा पार्टीको महाधिवेशन फेरि प्रभावित हुने त होइन भन्ने उनीहरूले आशंका व्यक्ति गरेका छन् । सदस्यताको विषय तत्काल टुंगो लगाएर महाधिवेशन सुनिश्चित गर्नुपर्ने पनि तीनैजना नेता एकमत देखिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०७:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।