नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिम चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रूपमा उपस्थित रहेका थिए ।
सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरूलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैँकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरूको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिनुभयो । साथै उहाँले बैँकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने र एनसीसी बैँकका कर्मचारीहरूको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको उल्लेख गरे । बैँकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरूलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि झन्डै २० हजार निजी व्यवसायीहरू रहेको र उनीहरू सबैसँग सहकार्य गर्न सकिने धारणा राखे । साथै उनले एनसीसी बैँकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुवात गरिएको उल्लेख गरे । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्याउने अपेक्षा सहित सम्पूर्ण व्यवसायिहरुलाई बैँकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे ।
एनसीसी बैंकका कुल १२८ शाखा सञ्चालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया