Logo

प्रदेश २

पूर्वगृहमन्त्री बादल र पूर्वआइजीपी खनाल विरुद्ध अदालतमा मुद्धा दर्ता



पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारीहरुका विरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । नेत्र वित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता कुमार पौडेलको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार बादल र खनालका विरुद्ध जाहेरी दर्ता गरेको हो ।

सरकारले दोहोरो भिडन्तमा मारिएको बताइएका कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानूनी रुपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाउन खोजेकी थिइन् । तर, प्रहरीले जाहेरी लिन मानेको थिएन ।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीमा समेत उनले निवेदन दिएकी थिइन् । तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी सर्वोच्च अदालतको शरणमा पुगेकी थिइन् ।

असोज १४ गते सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको थियो ।

जाहेरीमा कुमारको हत्या भएको दाबी गर्दै सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालिन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न भनिएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार