Logo

प्रमुख समाचार

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी



काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

उनले बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गर्दै आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गरी पुनर्बहाली गर्न माग गरेका हुन्।

रिटमा कार्कीले आफूलाई कुनै सुनुवाइको अवसर नदिई आईजीपी पदबाट हटाइएको दाबी गरेका छन्। सरकारको निर्णयले प्रहरी संगठनको नेतृत्वमा आईजीपीस्तरका दुई पदाधिकारीको अवस्था सिर्जना गरेको र आदेश शृंखलामा अन्योल उत्पन्न गरेको उनको जिकिर छ।

प्रहरी नियमावलीअनुसार आईजीपीको पदावधि चार वर्षको हुने व्यवस्था रहेको उल्लेख गर्दै कार्कीले कानुनी आधारबिना आफूलाई संगठनबाट बाहिर सरुवा गर्नु गैरकानुनी भएको दाबी गरेका छन्।

उनले सरकारको निर्णयले प्रहरी नेतृत्वलाई राजनीतिक कृपामा निर्भर बनाउने अवस्था सिर्जना गरेको पनि रिटमा उल्लेख गरेका छन्।

कार्कीले रिटमा अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यसम्बन्धी सर्वोच्च अदालतका यसअघिका फैसलालाई समेत नजिरका रूपमा प्रस्तुत गरेका छन्।

ती नजिरका आधारमा आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गरी आईजीपीमा पुनर्बहाली गर्न उनले अदालतसँग माग गरेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार २०:१६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।