Logo

प्रदेश २

प्रदेश २ का मुख्यमन्त्री राउतलाई मिल्यो विश्वासको मत



पछिल्लो समय बिवादमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सम्बन्धी सम्पूर्ण कागजात जफत गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षी पार्टीको मागकाबीच राउतलाई विश्वासको मत मिलेको हो ।

सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वैधानिक व्यवस्थाअनुसार राउतले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिए । प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । सत्तारुढ दल विभाजित भए पनि राउत नेतृत्वको सरकारलाई राउत मुख्यमन्त्री भएको जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले विश्वासको मत दिए ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार