Logo

कर्पोरेट फोकस

एनआरएनएको १०औं महाधिवेशन स्थगित, एक हप्तापछि नयाँ मिति घोषणा हुने



गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर २३–२५ मा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौंमा हुने मिति तय भएको थियो । महधिवेशन स्थगित गर्ने निर्णय भएको एनआरएनएका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । उनले अधिवेशनको नयाँ मितिबारे अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने बताए । उनका अनुसार कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने सहमति भएको छ ।

सन् २०१९–२०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ । त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ । ‘महाधिवेशन सर्ने भनेपछि कार्यकालको समायावधि आँफै बढ्यो भन्ने हाम्रो बुझाइ छ । तर यो बारे कानुनविद्हरुसँग परामर्श गर्छ,’ महासचिव शर्माले भने ।

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुनः पत्र लेखेपछि संघको विवाद झनै जटिल मोडमा पुगेको भन्दै महाधिवेशन रोक्नुपर्ने अबस्था आएको शर्माको भनाई छ ।

परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले पनि पूर्वअभ्यास अनुसार नै हुनुपर्ने माग राख्दै परराष्ट्रमा उजुरी दिएको थियो ।

तर संघका महासचिव शर्माले परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता नरहेको बताए । ‘विधानको अनुसूची ६(क) मा उल्लेख गरिएको छ । प्राथमिकताको सूचीमा रहेका व्यक्तिहरूले (अर्थात ६५ %मा पर्ने योग्यता भएका व्यक्तिहरूले) ले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ,’ महासचिव शर्माले भने, ‘राष्ट्रिय समन्वय परिषदको निर्वाचन पूर्व’ कुन कार्यसमिति हुन्छ भन्ने उल्लेख गर्नुपर्दैन । निर्वाचनभन्दा पहिले पुरानो कार्यसमिति नै अस्थित्वमा रहेको हुन्छ ।’

प्रकाशित : २५ आश्विन २०७८, सोमबार