काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा हाँडीघोप्टे वर्षा हुन सक्ने जनाएको छ । मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो । यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ ।
पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो ।
शाक्यले भनिन्, ‘बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिन्छ ।’
जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले ठूलो खालको वर्षा निम्त्याएको हो । अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा निम्त्याउने गरेको बताइन् ।
केही दिन पहिला मौसम बाहिरिएको समाचारहरू प्रकाशित भएपछि किसानहरूले धान धमाधम काटेका थिए । तर, धान भित्र्याउन नपाउँदै अत्यधिक वर्षा भएपछि मौसमविद्हरूको आलोचना भएको थियो ।
मौसमविद् शाक्यले मनसुन बाहिरियो भन्नुको अर्थ पानी नै पर्दैन भन्ने अर्थ लगाउन नमिल्ने बताइन् । ‘पोष्ट मनसुनकै समय छ । यस्तो बेला वर्षा कम हुने मात्र हो । तर, प्रत्येक वर्ष उस्तै मौसम हुँदैन,’ उनले थपिन्, ‘पहिला पनि यस्तो समस्या हुने गथ्र्यो। यसवर्ष न्यून चापीय प्रणाली र पश्चिमी वायु बनेकाले यस्तो भयो ।’
बंगालको खाडी तथा मध्य भारतस्थित न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुतm प्रभावले अत्यधिक असर गरेको छ । यसले धेरै वर्षा गराउँछ । तर, यस वर्ष साइक्लोन (चक्रवत) बनेको छैन । चक्रवत बनेको खण्डमा अझ धेरै वर्षा गराउँछ । र, वर्षासँगै वायुको गति धेरै हुन्छ ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ र २ गतेसम्ममा २ सय ९ वटा स्टेसनमा वर्षा भएको देखिएको छ । यसबाट १८ वटा घटना घटेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली नदीले सतर्कता तह पार गरेको छ । कैलालीकै खुटिया नदीको सतहले सतर्कता तह आसपास छ । अन्नपूर्णपोष्टमा समाचार छ ।
साथै, जुम्लाको तिला नदी सेरीघाट जलमापन केन्द्रले सतर्कता पार गरेको र रातिसम्म नै खतरा रहेको जनाएको छ । महाशाखाका अनुसार महाकाली नदीले सोमबार साँझसम्म खतराका तह पार गरेको थियो । कर्णालीकै असारघाटमा ७.९२५ मिटर पुगेको थियो । पूर्वी नेपालको तमोर नदीमा पानीको सतह बढेर ६.६४१ मिटर पुगेको महाशाखाले जनाएको छ । त्यसले जनधनको क्षति गर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ ।





















प्रतिक्रिया