कतिखेर हुरी आउँछ पत्तै हुँदैन । किनभने चैते हुरी यसरी नै आउँछ । हुरी आयो कि धुलोमुलो उडाएर हिंड्नै मुश्किल । अझ भूमरि परेर आएको हुरी त तराईंमा खपिनसक्नु हुन्छ । कच्ची सडक त झन सडकदेखि सगरसम्म धुलाम्य देखिन्छन् । न केही देखिन्छ, न केही चिनिन्छ ।
चैते हुरीले भर्खर फक्रिन लागेका आरुका फूलहरु कति झार्छ साध्य छैन । बानपाखामा फुलेका लाली गुराँस पनि चैते हुरीको चोट खपिरहन्छन् । तराईंका जिल्लामा त चैते हुरीले झारेका आँपका दाना टिप्न बालबालिका ढुकेर बसेका हुन्छन् । फूलहरुमा परागसेचनको सम्भावना बाहेक चैते हुरीको फाइदा छैन, नोक्शान मात्र ।
बनपाखामा काफल पाकेर के गर्नू चैतमै कोइलीले विरहको गीत गाउँछ । डेउडा गायक भोजराज भट्टले गाएकै छन् :
‘जनबासै न्याउली चैतकी
परदेश जान्छु साइतकी’
अर्का डेउडा गायक महेश औजीले गाएका छन् :
चैत बैशाखका महिना पालुवा पलायो
कोयलीले डाको लायो हृदय जलायो ।
रेखा जोशी र तेज सागर भटटराईले गाएका छन् :
लेक काफल पाकी जान्ना, उदासी चैतका मैना
न्याउली चरी डाउको लाउनी, उदासी चैतका मैना
नेपाली लोक साहित्यमा पनि चैत महिनालाई विरह र उदासी महिनाका रुपमा चित्रित गरेको पाइन्छ । त्यसो त बसन्तको पालुवाले प्रकृतिलाई हराभरा बनाइरहेको हुन्छ तथापी चैतको उदासी बढी हावी छ ।
चैत महिनासंग मेल खाने अर्को शब्द हो चैते । यो शब्द अवसरवादीहरुका लागि बढी प्रयोग हुन्छ । यो मान्छे चैते हो । चैते नेताहरु, यस्तै यस्तै । नेपाली बृहत् शब्दकोष अनुसार अर्थ लगाउँदा चैत महिनामा खान नपाएर दुब्लाएकोलाई चैते भनिन्छ । जस्तै : चैते बाँदर । चैत महिनामा खान केही नपाएर बाँदर दुब्लायो भने त्यसलाई चैते बाँदर भनिन्छ ।
बाँदरका लागि प्रयोग हुने यो शब्द अचेल नेताहरुका लागि प्रयोग हुन थालेको छ । चैते नेता । नेताहरु खान नपाएर चैते भएका त होइनन् तर जति खाए पनि नअघाउने भएकाले खानका लागि जता पनि हामफाल्ने प्रवृति छ ।
पद, पैसा र प्रतिष्ठा प्राप्तीका लागि नेताहरु सिद्धान्त, विचार र आदर्श परित्याग गर्दै जता फाइदा उतै टाँस्सिने गरेका छन् । जीवनभर पार्टीमा त्याग तपस्या गरेका नेताहरुले केही नपाउने तर बिचैमा टप्केर आएकाहरुले पद, प्रतिष्ठाको सुविधा पाउने स्थिति छ । यस्ता फाइदा लिन आएका नवआगन्तुकहरुलाई पनि चैते भन्ने गरिन्छ ।
अहिले यो चैत महिनामा नेताहरुको अदलबदल धेरै भैरहेको छ । अझ एमाले र माओवादी केन्द्रका नेताहरुमा त लुछालुछ नै छ । एमालेमा ओली समूहमा गएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङहरुको नजरमा पक्कै पनि चैते हुन् ।
अहिले भावी सरकार कांग्रेसको बन्ने सम्भावना देखिएपछि बुढानीलकण्ठस्थित देउवा निवासमा कांग्रेस प्रवेश गर्नेहरुको लहर छ । केही मिलिहाल्छ कि भनेर राप्रपा, जसपा, एमाले वा माओवादी केन्द्र छोडेर कांग्रेस छिर्नेहरु चैते हुन् । संयोग त के छ भने यो काम चैत महिनामै बढी भैरहेको छ ।
अझ हिजो राजाका पालामा खाँटी राजावादी भनेर चिनिएकाहरु गणतन्त्र आएपछि खुँकार राजा विरोधी भएर निस्किए । गणतन्त्रको जन्मदाता आफै हुँ की भने जसरी प्रस्तुत भए । आज पनि त्यो हुँकार गर्न छोडेका छैनन् । क्षणिका स्वार्थका लागि तुरुन्तै जता पनि हाम फाल्नेहरु चैते हुन् ।
अहिले गणतन्त्रमाथि असन्तोष पैदा हुँदैछ । २०७२ सालको यो संविधान नै फेर्ने चर्चा छ । कतिपयले २०४७ सालको संविधान फर्काउने खेलका रुपमा बुझेका छन् । कतै राजसंस्था फर्किहाल्छ कि भनेर चैतेहरु फेरि मौका हेरेर बसेका छन् । गणतन्त्रमा हारलुछ गरेर भूँडी भरेकाहरु राजसंस्था फर्किए फेरि पनि मोज गर्नुपर्छ भनेर मौका हेरेर बसेका छन् । अहिले देश र राजसंस्थाको वास्तविक चिन्ता गर्नेहरु भन्दा स्वार्थको रोटी सेक्ने चैतेहरु बढी राष्ट्रवादी देखिने प्रयासमा छन् ।
वास्तवमा देशको राजनीति अस्थिर हुनु र गणतन्त्र बदनाम हुनुको एउटा कारण चैते नेताहरु पनि हुन् । आफनो विचार, सिद्धान्तमा अडिग नभइ व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने भएपछि कागजमा लेखिएको गणतन्त्रको अक्षर दुब्लाउँदै जानु अनौठो होइन । अझ अहिले नयाँ सरकार निर्माणका लागि नेताहरु तानातानको स्थिति छ । यो चैते नेताहरुका लागि उपयुक्त अवसर हो भने सिद्धान्तनिष्ठ र निष्ठावान नेताहरुका लागि मृत्युकुञ्ज ।
जसरी चैतको हुरीले आँखाभरी धुलो कसिंगर छरेर जान्छ चैते नेताहरुले पनि देशको दृष्टिमा धूलो छरेका छन् । देश के हो ? देशभक्ति के हो ? देश कसरी बनाउने भन्ने सोच र दृष्टिमा धूलो परेको छ । अगाडि केही देखिदैन । अन्योल मात्र छ । आँखा मिच्दा प्रचण्ड घाममा झन तिरमिराउँछ । स्वच्छ दृष्टिका लागि आँखा पखाल्ने पानी छैन । चैतको हुरी त जाला, तर चैते नेताहरुबाट देश मुक्त कहिले हुने ?




















प्रतिक्रिया