नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरमा अनलाइनमार्फत वस्तु तथा सेवा खरीद गर्नका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न बैंकहरुलाई अनुमति दिएको छ । केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले आफ्ना ग्राहकलाई यस्तो कार्ड जारी गर्न अनुमति दिएको छ । यसरी जारी भएको कार्डबाट ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरीद गर्न सकिने छ ।
परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ । साथै ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम ५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।
नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत विदेशबाट खरिद गर्न सकिने व्यस्था मिलाइएको छ ।
नेपालीले विदेशी मुद्रामा कार्डमार्फत वस्तु तथा सेवा दुवै वार्षिक ५ सय अमेरिकी डलरसम्मको खरिद गर्न गर्न सक्न भने बिक्री गर्ने सन्दर्भमा सेवा मात्र तोकिएको छ ।
यसरी सेवा बिक्री गर्दा पनि ५ हजार डलरसम्मको मात्र कार्ड मार्फत भुक्तानी लिन सकिन्छ । सेवा बिक्री गरेर ५ हजार डलर भन्दा धेरै आम्दानी भएको खण्डमा सो भन्दा बढी भएको रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गर्नुपर्ने छ । कार्ड प्रयोगकर्ता वस्तु तथा सेवा आयात बापतको खर्च भएको रकमको बील बीजकलगायत आवश्यक विवरण माग गर्न सकिनेछ । यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राहकले सम्बन्धित बैंक तथा विकास बैंकलाई पेश गर्नुपर्ने हुन्छ ।
तोकिएको सीमा, शर्त र व्यवस्थाको प्रतिकूल हुने गरी कार्डबाट खर्च गरिएको पाइएमा त्यस्तो कार्डबाट कारोबार गर्न जुनसुकै बखत रोक लगाउन सक्ने व्यवस्था रहेको छ । कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानुन, नियम, निर्देशनको पूर्णतयता पालना गर्नुपर्ने सर्त रहेको छ





















प्रतिक्रिया