Logo

साहित्य

छवि अनित्यका पाँच कविता



हेँटौडाका छवि अनित्य विगत लामो समयबाट काव्यलेखनमा छन् । बिम्बात्मक कविता सृजना गर्ने अनित्यका हामी पाँच कविता प्रस्तुत गदैछौँ ।

१.

घाउ

नछोएरै महसुस गर्नुपर्छ कति कुरा–
आकाशभन्दा विशाल
मनभन्दा गहिरो
जीवनभन्दा जटिल
जस्तो एउटा घाउ दुख्छ छातीमा – कसैको चिनो !

२.

अभाव

केही नहुनु पनि सबथोक नहुनु हो –
पानी बिनाको माछा
फूल बिनाको बगैंचा
मान्छे बिनाको शहर
जस्तो कि – ‘तिमी’ बिनाको ‘म’ !

३.

वियोग


फरक छ नि यसरी छुट्नु –
हाँगाबाट पात छुट्नुभन्दा
शीरबाट हात छुट्नुभन्दा
देहबाट सास छुट्नुभन्दा
जरुर छुट्नुपर्छ – मिलनका लागि !

४.

याद


कुनै याद मात्रै त होइन जीवन
धड्कन्छ – उसको पनि मुटु
बग्दछ – उसको पनि नशामा रगत
चल्दछ – उसको पनि छाती
जसको यादमा कोही हुँदैन ।

५.

प्रेम

लुकाएरै पो कतिन्जेल सकिँदो रहेछ र –
मुटुका चोटाकोठामा
मनका संवेदनाहरूमा
ओठका भाकाहरूमा
छचल्किँदो रहेछ आँखामा – प्रेम ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १३:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।