Logo

मधेश प्रदेश

निधिकै प्रदेशमा क्षेत्रीय सभापतिमा देउवा पक्षको अग्रता



प्रदेश २ मा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षको अग्रता देखिएको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि क्षेत्रीय निर्वाचनको परिणाममा निधि निकै कमजोर देखिएका छन् ।

हालसम्म प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेतृत्वसहित महाधिवेशन प्रतिनिधि चुनिएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये १६ देउवा समूहका छन् । पौडेल–कोइराला समूहमा ४ र निधि समूहमा २ जना खुलेका छन् भने ४ जना तटस्थ छन् । १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिमा पनि देउवा समूहमा ५, निधि समूहमा २ र १ तटस्थ छन् । सर्लाहीका ४ र महोत्तरी तथा सप्तरीका एक–एक क्षेत्रमा निर्वाचन हुन सकेको छैन ।

निधि समूहबाट उनको गृह जिल्ला धनुषा–३ मा धीरेन्द्र निधि र महोत्तरी–१ मा महेश झा सभापति निर्वाचित भएका छन् । धीरेन्द्र निधिका भाइ हुन् । पौडेल समूहबाट धनुषा–३ मा राजकिशोरसिंह यादव, रौतहट–४ मा देवप्रसाद तिमिल्सिना, सिरहा–३ मा सञ्जयप्रकाश यादव र महोत्तरी–२ मा राजकरण साह निर्वाचित भएका छन् । सप्तरी–१, २ र ३ मा क्रमशः ललन गुप्ता, महानन्द यादव र भूपेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् ।

रौतहट–२ मा हाल जेलमा रहेका मोहमद अफताब आलम पक्षले सभापतिसहित एकलौटी महाधिवेशन प्रतिनिधि जितेको छ । १३ औं महाधिवेशनमा पौडेल समूहमा रहेका आलम पछिल्लो समय देउवातिर लागेका छन् ।

पर्साका चारवटै क्षेत्रमा क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि देउवा समूहले जितेको छ । बाराका चारवटै क्षेत्रमा पनि देउवाले सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जितेको छ । त्यहाँ फरमुल्लाह मन्सुर, जयचन्द्र चौरसिया, राधेचन्द्र यादवजस्ता देउवा समूहका प्रभावशाली नेता छन् ।

प्रदेश २ मा मन्सुरसहित आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रमेश रिजाल, कृष्णा यादव, चित्रलेखा यादवजस्ता नेताहरू देउवा समूहमा छन् । निधिका साथमा चन्द्रमोहन जोशी, स्मृतिनारायण चौधरी, प्रदीप गिरीलगायत छन् । पौडेल समूहमा रञ्जित कर्ण, रामकृष्ण यादव र अमरेश सिंहलगायत छन् ।

३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्रदेश २ मा करिब ८ सय ६० महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । प्रदेश अधिवेशनमा करिब २ हजार ७५ प्रतिनिधि सहभागी हुने केन्द्रीय निर्वाचन समितिको भनाइ छ । ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश २ को अधिवेशन कहिले हुने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०९:४९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।