नेपाल राष्ट्र बैंकले पुनरकर्जाको रकम बजार पठाएपछि बैंकहरुका निक्षेप बढ्न थालेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई दिएको पुनरकर्जा बापतको रकम खुलाएपछि बैंकहरुमा एक सातामा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरुलाई चैत महिनाको तेस्रो सातामा सहज भएको छ । कर्जाको माग अनुसारको सम्बोधन गर्न नसक्दा बैंकहरुले कर्जालाइ छनोट गरेर दिन थालेका थिए । कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु पनि कर्जा विस्तारमा आक्रमक भएका हुन् ।
फागुन महिनामा ४० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
चैत्र महिनाको १३ गतेसम्ममा बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । तर, चैत महिनाको २० गतेसम्ममा बैंकहरुले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।
पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहरको हल्लाले गर्दा आम जनमासनमा त्रास बढेको अवस्था छ । यसले गर्दा आगामी दिनमा कर्जाको मागमा कमी आउन सक्ने जोखिम भने देखिन्छ । चैत २० गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
प्रतिक्रिया