मैले
जीवनमै पहिलो पटक भेटेको एउटा पुरुष
मेरा बुवा हुनुहुन्थ्यो ।
आज पनि बुवा मसँग भइदिएको भए
संसारकै भाग्यमानी म पनि हुने थिएँ ।
आज म जहाँ छु, जे छु
उहाँको आशीर्वाद र हौसलाले त छु
आज बुवाको पसिनामा सुगन्ध नफैलिएको भए
कहाँ छोराछोरी धरती फोड्न सक्ने हिम्मत राख्छन् ?
बुवामात्र एक हुनुहुन्छ
जसलाई दिन मात्र आउँछ
लिन कहिल्यै आउँदैन
जो आफू रित्तिएर अरूलाई भर्ने
जलिरहेको दियो हुन् बुवा
आफू जलेर उज्यालो छर्ने ।
दुःखको अँध्यारो महासागर पौडिदै
आफ्नो सन्तानको उज्यालो भविष्य खोज्ने
तिनै मेरा बुवा हुनुहुन्छ
जो बाँचेर पनि सन्तानको लागि मर्ने
मैले संसारमा सबैभन्दा धेरै विश्वास गर्ने पुरुष
मलाई मेरो बुवा नै खास लाग्छ ।
साँच्चै बुवाजस्तै अरू पुरुष
हुन्छन् कि नाइँ ?
स्वर्गवास नै गए पनि
प्रत्येक रात बुवा सपना आइदिएहुन्थ्यो
सपनामा मै सही अलिकति हौसला
सपनामा मै सही अलिकति आर्शीवाद
बुवाले दिएर फर्किए हुन्थ्यो ।
लेखकः जुनी चापागाई





















प्रतिक्रिया