नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङमा आधारित मुद्रास्फीती ३ दशमलव ०२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव १ प्रतिशतले बढ्दा निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । ८ महिनाको समयमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८ दशमलव ६ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा ५ प्रतिशतले उकालो लागेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ सय ४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव ७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ७ दशमलव २ प्रतिशतले वृद्धि भई ७ सय १८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकसँग कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने शोधानान्तर स्थिती ६८ अर्ब रुपैयाँले बचतमा रहेको छ ।
यस समयको अवधीमा संघीय सरकारको खर्च ५ सय ७१ अर्ब २ करोड रहेको छ भने राजस्व परिचालन ५ सय ७१ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
विस्तृत मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२ दशमलव ६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११ प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७ दशमलव ५ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८ दशमलव ९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया