Logo

प्रमुख समाचार

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको अध्यक्षतामा समिति गठन



प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८ गठनको प्रस्ताव पेस गरेका थिए । जसलाई प्रदेश सभा सदस्यले पारित गरेको हो ।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन् । त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन् ।

प्रदेश २ को नामाकरणका लागि यसअघि चार वटा नाम प्रस्ताव भएका छन् । बिहीबार प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन् । जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए । लोसपाका सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन् । नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ । कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सो नाम प्रस्ताव गरेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन् । उनी पर्साका सांसद हुन् ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०६:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।