मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ ।
नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकको नीति अनुरूप मेगा बैंकले आज काठमाडौँको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै नेपाल राष्ट्र बैक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनले बताए ।
मेगा बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना सङ्क्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताए । क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैङ्किङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताए । यसै गरी, सिइओ खुञ्जेलीले सहुलियतपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैङ्किङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए ।
यसै गरी, विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारका अध्यक्ष छविलाल ओझाले १ सय ५० जनालाई आफूहरूले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए ।
कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका ग्रुप चिफ अपरेटिङ अफिसर शिशिर पछाइ लगायतको पनि उपस्थिति थियो ।
तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि व्यवसायी तथा ग्राहकहरू निकै हर्षित भएका छन् । यो व्यवस्थासँगै उपभोक्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आरक्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।





















प्रतिक्रिया