Logo

अन्तर्वार्ता

कवि भएर कविता लेख्दा र कानून व्यवसायीको हैसियतले लेख्दा पक्कै फरक छ : पेशलकुमार लुइटेल [अन्तर्वार्ता]



भर्खरै बजारमा आएको कवि पेशलकुमार लुइटेलको कवितासङ्ग्रह “पोल्टाभित्र डिही” को परिवेशमा रहेर अनलाइनपानाकर्मी निरज दाहालले गरेको कुराकानीको सम्पादित अशं :

पोल्टाभित्र डिहीमा पाठकले पढ्नै पर्ने के छ ? कसरी व्याख्या गर्नुहुन्छ ?

यो कृति ग्रामीण परिवेशलाई सम्झिएर सहरको एउटा कुनामा बसेर लेखिएको कृति हो । यो कृति पढ्दा पाठकलाई समय, समाज, संस्कृति आदिबाट मानिसलाई के कति प्रभाव पर्दछ भन्ने कुरा देख्न सकिन्छ । यो कृति कतिपय अतिृप्त सपनाहरूको संग्रह हो । जीवन यात्रा आधा नभई मान्छे कति सम्म खिइन्छ र कयौँ सपनाहरूको दागबत्ती आफ्नै हातले दिन विवश हु्न्छ भन्ने कुरालाई समेट्न खोजिएको कति हो । यो कृति सरल भाषामा छन्दका शुत्रहरूमा उनिएको कृति हो तर म छन्दमा शब्द उन्दैमा कविता हुन्छ भन्ने ठान्दिनँ कविता भावप्रदान विधा हो तर सकेसम्म प्रयास भने यस कृतिमा गरिएको छ ।

सानैबाट साहित्य लेख्नुभएको रहेछ । तर पुस्तक प्रकाशनमा किन ढिलो हुनुभयो ?

विद्यालय स्तरीय कविता प्रतियोगितामा अन्त्यानुप्रास मिलाएर कविता लेखेर पुरस्कृत भएको क्षण अहिले पनि ताजा छ । महेन्द्र मोरङ क्याम्पसमा प्रविणता तह अध्ययन गर्दाको समयमा छन्द सिक्ने अवसर जुर्याे र त्यो समयमा क्षितिज परमार्थीको नामबाट कविताहरू लेख्दै वाणी प्रकाशनद्वारा आयोजना हुने नियमित कविता वाचनमा निरन्तर जाने गरियो र अन्य प्रतियोगीतामा समेत भाग लिदै हिडेको पनि भर्खरै जस्तो लाग्दछ । पुस्तक प्रकाशनमा ढिलाई हुनुको मुख्य कारण आफ्नो अध्ययन कार्य व्यस्तता अनि कवितामा काँचो बोधको बाहुल्यता छ भन्ने सोचाइले पनि हो ।

तपाईँ अदालतको मान्छे हुनुहुन्छ तर कवितालाई कसरी न्याय गर्नुभएको छ ?

अदालतवाजहरूबाट लखेटिएर आएका सेता परेवाहरुलाई मृत्युको संघारबाट जीवनको लक्ष्मणरेखाभित्र राख्न सक्ने हुनुपर्दछ । मान्छे धन, सम्पति, इष्टमित्र आदि नहुँदा मनोवैज्ञानिक रुपले विचलित हुँदैन तर अन्यायको रापले मान्छेलाई यति पोल्दछ कि ऊ आधा मृत्यु पालेर जिन्दगी गुर्जादै रहेको हुन्छ । मान्छेको अन्तिम आशाको केन्द्र भनेको अदालत हो तर अदालतमा केही विकृति विसंगतिको विषयमा बोल्नु पर्ने जरुरत छैन कतिपय कुराहरू घाम जस्तै छर्लङ छन् तर छिटपुट घटनालाई लिएर बढी व्याख्या गर्नु हुँदैन जस्तो चन्द्रमाको दागको होइन रश्मीको पो कुरा गर्नु पर्दछ ।

संसारको न्याय प्रशासन सामान्य प्रशासनभन्दा फरक हुन्छ दुई सैद्धान्तिक कुराले Justice Hurried Is Justice Buried  (हतारमा न्याय दिँदा न्याय मर्न सक्छ ) र Justice Delay is Justice Denied   ढिलो न्याय पाउनु न्याय नपाउनु जस्तै हो र कविता प्रतिको न्यायको सन्दर्भमा सकेसम्म न्यायिक मनले लेख्ने प्रयास गरेको छु ।

तपाईँले कविता लेख्दाको समाज र अदालतमा वकालत गर्दाको समाजमा भिन्नता के रहेछ ?

कवि भएर कविता लेख्दा र कानून व्यवसायीको हैसियतले लेख्दा पक्कै फरक छ जुत्ता लगाउने मानिसलाई थाहा हुन्छ कि कहाँनेर बढी जुत्ताले दुखाउँदछ तर कवि भएर सबै दुखाइ लेख्न मिल्छ तर अधिवक्ताले सबै दुखाइहरू जुन अदालतबाट घायल छन् ती लेख्न नमिल्न पनि सक्छ ।

तपाईँको विधा कवितामात्र कि अन्य नि छन् ?

म साहित्य अनुरागी हुँ कविताका श्लोकहरू, चोटिला गद्य कविताका पोटिला बिम्बहरू गीत गजलका मन छुने हरफहरु हरेक पाठकलाई मनपर्दछ । मलाई साहित्यका सबै सबै विधाहरू मन पर्दछ तर छोटा कविताहरू गीत गजल अलि बढी मनपर्दछ । तथापि कथा उपन्यासहरूको गहिराइमा अनिदो रात विलिनो प्रभात बनेका क्षणहरू पनि कम छैनन् ।

छन्द कविताको बजार नै छैन भन्छन् नि प्रकाशकहरू, प्रकाशकले भनेको ठिक हो ?

प्रकाशकहरूले भनेको कुरा पूर्ण रुपमा ठीक होइन भन्न मिल्दैन तर कविता को मुहार बेदाग भएमा यसको बजार पक्कै हुन्छ जस्तो लाग्छ तर छन्दमा शब्द उन्न सजिलो छ त्यसमा भाव प्रधान कविता लेख्न सके नराम्रो पक्कै हुन्न ।

समय कसरी मिलाउनु हुन्छ ? जागिरको सिलसिलामा देश दौडाहामा देखिनुहुन्छ । कविता फेरि फुर्सद भयो अब लेख्छु भनेर लेखिने विषय पनि त होइन

व्यस्ततालाई म प्रेम गर्दछु तर व्यस्ततालई व्यवस्थापन गर्न नसक्नेहरु अस्तव्यस्त हुन्छन् भन्ने पनि थाहा छ । जुन ठाउँमा जे फुर्दछ त्यसलाई तुरुन्त टिप्ने बानी छ । कामको सिलसिलामा देश भित्र र कहिले कहिले देश बाहिर पनि जानु पर्दछ तर जहाँ पुगिन्छ त्यहाँको परिवेशले नयाँ कुरा जन्माउँदछ र केही कुरा फुर्दछ पनि ।

तपाई अङ्ग्रेजी साहित्यको पनि विद्यार्थी, तर तपाईँका बिम्ब समाज र देशभित्रका छन् । पाश्चात्य साहित्यमा तपाईँको झुकाव किन कम भयो ?

हो मैले अङ्ग्रेजी साहित्यमा एम.फिल. गरे तर नेपाली साहित्य जगतमा आफूले चाहेको कुरा लेख्न सजिलो यसमा मौलिकपन बढी भएकाले होला मलाई लोक लय आफ्नो बालापनको संगत आदिले होला तर मैले छन्द कवितामा पनि अङ्गेजीका बिम्बहरू, प्रतीकहरूको प्रयोग गर्ने प्रयास गरेको छु ।

अबको योजना के छ ?

एउटा प्रकृतिको विनाशलाई मुख्य विषय बनाएर खण्डकाव्य लेखेको पहिलो ड्राफ्ट तयार भएको छ सम्पादनको क्रममा छ । फुट्कर कविताहरू, कथाहरू केही लेखेर संकलन गर्दैछु ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १५:५१   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।