काठमाडौं । निजामती सेवामा रहेर काम गर्दै आउनु भएका लेखक कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ । लेखन कुञ्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरिएको हो ।
कौशिक नवराज युवा पुस्ताका उदयमान लेखकका रुपमा चिनिन्छन् । उनले जनप्रशासनमा एमपिए र कानुनमा स्नातक गरेका छन् भने उनको फुटकर लेख रचनाहरु दैनिक पत्रपत्रिका तथा अनलाइन मिडियाहरुमा प्रकाशित हुदै आएका छन ।
कृति विमोचन कार्यक्रममा वक्ताहरूको रूपमा प्रखर समालोचक, प्राध्यापक राम लोहनी, वरिष्ठ पत्रकार तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, मदन पुरस्कारका लागि छनोट भएको पुस्तक फिलिङ्गोका स्रष्टा प्रभा बराल, कानुन व्यवसायी तथा लेखक जया ओझा रहेका थिए ।

‘डियर एक्स’ युवापुस्तालाई लक्षित गरी लेखिएको कथाहरूको सङ्गालो हो । कथाहरूमा लेखकले युवापुस्ताको, त्यसमा पनि पुरूषहरूको समाजिक, यौन, प्रेम र विछोडका मनोविज्ञानलाई मिहीन रूपमा केलाउने प्रयास गरेका छन् ।
कौशिक नवराजले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूको मनोविज्ञानलाई समेत आफ्नो कथामा अटाएका छन् । कथा विशेष गरी प्रेम सम्बन्धमा रहेर एक्स हुन पुगेका जोडिहरुलाई फोकस गरी तयार गरिएको छ ।
कथा संग्रहमा दश वटा कथाहरु रहेका छन । ३२० पृष्ठ रहेको पुस्तक सिमल बुक्सबाट बजारमा आएको हो । पुस्तकको मूल्य ५९९ रहेको छ । नामले कथा संग्रह डियर एक्स भएपनि यस कथा भित्र निजामती सेवा सँगै देशको विभिन्न जिल्लाको भुगोल, सरकारी कार्यालयको अनुभव, भौगोलिक परिवेशलाई लेखकले प्रेमसँग जोडेर प्रयोगात्क शैलीमा जागिर र प्रेमको फ्युजन गराएको देखिन्छ । डियर एक्स कथा संग्रह विशेषगरी युवा पुस्ता लक्षित भएपनि यस कथा संग्रह भित्र निजामती सेवामा रहँदा विभिन्न पात्रले भोग्नु परेका आरोह अवरोह देखि पदसोपानका श्रृङखलाहरुदेखि निजामती सेवा भित्रको चेन अफ कमाण्डलाई गहन विश्लेषण गरेर केलाइएको छ ।
डियर एक्स चाहि अहिलेका बजारमा आएका भन्दा नयाँ शैली र नयाँ स्वादको कृति भएको बताइएको छ । यसमा कथाको परम्परागत धारलाई भत्काउने प्रयास गरिएको छ ।
















प्रतिक्रिया