नेकपा एकीकृत समाजवादी पार्टिमा अमेरिकी सहायता परियोजना एमसीसीमाथिको विबाद सतहमा आएको छ ।
२५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा सम्मानित नेता झलनाथ खनालको आलोचना भएको छ । एमसीसीमा पार्टी नीति विपरितको भूमिका खेलेको भन्दै अध्यक्ष माधव नेपालले समेत खनालको आलोचना गरेका छन् ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय नेकपा (एस) ले गरेको भए पनि खनालले त्यसमा फरक मत राखेका थिए । खनालले संसदको रोष्टममै उभिएर एमसीसी देशका लागि घात भएको भन्दै त्यो पारित गर्न नहुने पक्षमा आफ्ना भनाइ राखेका थिए ।
एमसीसीका नाममा पार्टी विभाजन गर्न खोजेको भन्दै अन्य नेताहरुले पनि खनालको आलोचना गरेका छन् । अध्यक्ष नेपालले एमसीसीमा पार्टीको नीति विपरित किन बोलेको भन्दै खनालको आलोचना गरेका थिए ।
एमसीसी आफूहरुले पास नगरेको भएपनि कांग्रेसले एमालेको साथ लिएर पास गर्ने भन्दै नेपालले आफूहरुले गलत नगरेको बताएका थिए ।
‘एमसीसी हामीले पास नगरेको भए कांग्रेसले केपी ओलीसँग मिलेर पास गर्थ्यो । उनीहरुले गर्दा ठिक, हामीले गर्दा बेठिक हुन्छ ?’ एमसीसीमा खनालको भूमि ठिक नभएको अध्यक्ष नेपालको भनाइ थियो । ‘यो बेला हामीले ठिक गर्यौं भन्नुपर्नेमा तपाईंको भूमिका ठिक भएन,’ नेपालले भनेका थिए ।





















प्रतिक्रिया