दमकमा आगामी चैतदेखि फाेहाेरबाट ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ । फाेहाेर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फाेहाेरबाट एकैसाथ ग्यास र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए ।
उनका अनुसार फाेहाेरबाट अब घरका भान्सामा प्रगोग हुने ग्यासदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फाेहाेर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फाेहाेरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
नगरको फाेहाेर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फाेहाेर छुट्याइन्छ । यसरी छुट्याइएको फाेहाेरमध्ये जैविक फाेहाेरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फाेहाेरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ । बाँकी कुहिएको फाेहाेरबाट प्राङ्गरिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गरिक मल उत्पादन गरिने कम्पन्नीका प्रबन्धक निर्देशक खतिवडाले बताए ।
उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलव पाँच मिटर उचाइ भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ । यहाँबाट दैनिक एक हजार ८४ किलोग्राम वायोग्यास उत्पादन गर्न सकिन्छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फाेहाेर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।
संरचना निर्माणमा कूल २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत रहेको छ । यसमा लागत सहभागिता १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालि/रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी पाँच करोड आठ लाख बढी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको रहेको जनाइएको छ । जेभीले विसं २०७७ माघ १० गते सम्झौता गरेको थियो ।
दमक क्षेत्रमा दैनिकजसो २० टन फाेहाेर उत्पादन हुने गरेको छ भने १५ टन फाेहाेर सङ्कलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फाेहाेर रहने गरेको छ । कागज तथा कागजजन्य छ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फाेहाेर निस्किने गरेको छ ।





















प्रतिक्रिया