भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो महँगो कार बेचेकी छन् । फिल्मी खबर प्रकाशन गर्ने सञ्चारमाध्यम पिंक भिलाका अनुसार उनले आफ्नो रोल्स रोयस घोस्ट कार बेचेकी हुन् ।
उनले यो कार सन् २०१३ मा साढे चार करोड भारूमा किनेकी थिइन् । प्रियंकाले यो कार बैंगलोरका एक व्यापारीलाई बेचेकी खबर छ । यी व्यापारी महँगा कार संकलन गर्ने सौखिन भएको बताइएको छ । उनले यो कार कतिमा बेचिन् भन्नेबारे भने जानकारी छैन ।
प्रियंका अमेरिकामै बस्न थालेपछि यो कार उनको ग्यारेजमै थन्किएको थियो । अहिले भने उनले यो कार बेचेकी हुन् ।
बलिउडमा नाम र दाम दुवै कमाएकी प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेकी हुन् । उनले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग बिहे गरेकी हुन् ।
हालै उनीहरूले सरोगेसीमार्फत् एक छोरीलाई जन्म दिएका छन् ।
प्रियंका पछिल्लो समय हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो । उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह ‘जोनास ब्रदर्स’ का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन् ।
प्रियंका अब अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’ का साथै बलिउड फिल्म ‘जी ले जरा’ मा देखिँदैछिन् ।





















प्रतिक्रिया