Logo

विविध

सशस्त्र प्रहरीद्वारा साढे २३ लाख मूल्य बराबरको पटका नष्ट



झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याइएका ती सामग्री विभिन्न समयमा जिल्लाका अलग-अलग स्थानबाट नियन्त्रणमा लिइएका थिए।

बरामद गरिएका पटका तथा आतिसबाजीजन्य सामग्री आज गण परिसरमा खाल्डो खनेर नष्ट गरिएको कर्माचार्यले जानकारी दिए। उक्त सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो।

चाडपर्वका बेला पटका तथा आतिसबाजीको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषणको जोखिम बढ्ने भएकाले यसको अवैध ओसारपसार र बिक्री वितरण नियन्त्रणलाई प्राथमिकता दिइएको कर्माचार्यले बताए।

उनले पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पार्ने भन्दै यस्ता सामग्री प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरे।

यसअघि गत कात्तिक १० गते पनि सशस्त्र प्रहरीले तीन लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरेको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार २०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।