आश्वासनका चिल्ला हतियार बोकेर
धुर्त स्वार्थका मतियार पछि लाएर
तिम्रा आस्थाको धरोहरहरू चोर्न
तिम्रा घरगाउँको एकता फोर्न
अब तिम्रा गाउँ ठाउँमा चोर पस्ने बेला भो ।
तिमीलाई फकाइ फुल्याइ,
तिमीलाई गफैमा भुल्याइ–भुल्याइ
निधारमा अनेकथरि चिन्हहरू टाँसेर
चित्र विचित्रका झण्डाहरू बोकेर
तिम्रो मनको देशभक्ती निचोर्न
फगत आफ्नो लागि मौकाहरू जोर्न
अब तिम्रा गाउँ ठाउँमा चोर पस्ने बेला भो ।
तिमीलाइ धम्काइ,तिमीलाइ नानारंग सपनाहरू देखाइ
खुबै चिनजान भए झै गरेर
परैदेखि चार हात–पाउ जोडेर
त्यै तिमीले पहिलेदेखि नै चिने जानेको
तिम्रो ठूलै भण्डारको साँचो फुत्काइ लैजान
अब तिम्रा गाउँ ठाउँमा चोर पस्ने बेला भो
तिम्रा सन्ततीलाई मरूभुमि भिजाउन पठाउँन
छोरीचेलीलाई उसैको स्वागतमा नचाउन
कहिले साधु भइ नम्र नमन गर्दै
कहिले ढुंगेनी मनबाट आँसु झार्दै
अनर्थहरूलाई अनेक अर्थ लगाउँदै ठगी खान
अब तिम्रा गाउँ ठाउँमा चोर पस्ने बेला भो ।
होस गर है, धेरै पुराना र थोरै नयाँ
अब तिम्रा गाउँ ठाउँमा चोर पस्ने बेला भो !





















प्रतिक्रिया