Logo

साहित्य

भूतको ताण्डव



बालुवाटारको
बाँसघारीबाट फुत्त निस्केको
मुलुकमारा रॉके भूत
चकमन्न मध्यरातमा
देशै भर आगो सल्काउन
भस्मासुर शैलीमा  राँको लिएर
छिर्छ शीतले दरबार
र,लगाउँछ मुलुक भरी डडेलो

चण्ड-मुण्ड र मतियारहरूसंग
उसको अपवित्र साँठगाठ छ
बलिदान पछि ल्याइएको
अबोध संबिधानमाथि
बलात्कार गरेर छाति फुलाउँदै
पाखण्डअी प्रलाप गाउँदै
नग्न नृत्याङ्गनाको नाङ्गो नाच नाचेर
हल्लाउँदै छ
स्वाभिमानी नेपालको झण्डा

बित्पाते भएर निस्केको छ
भूत संबिधानको धरोहरलाई
तृण बराबर मान्दैन
धाराहरू भाचेर सखाप पार्छ
आफ्नै सन्तालाई कंशले झम्टे झै झम्टन्छ
घिसार्दै पुर्याउछ रातो ओढार तिर
सौतेलो नङ्ग्रा र संगिनले पालैपालो
निमोठ्छन् विधिको घाँटी

भूत लिलासंग
लजाएको छ रात
लजाएको छ न्याय जोख्ने तराजु
लजाएको छ दाशढुङ्गाको रैथाने भूत
आफ्नै बिष्ठा खाएर पनि घिनाउदैनन् 
रातका निशाचर र दिनका साशकहरू
यतिबेला  देखेर उनिहरूको ताण्डव
लाज लजाएको छ
दोबाटोमा पसारो परेको छ लाज
देखेर भूतको ताण्डव !! 

ऋषभदेव घिमिरे

ललितपुर, गोदावरी 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १२:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।