रसुवा । न्यायमा महिलाको पहुँच पुर्याउन रसुवाको बिकट क्षेत्रमा सचेतना मूलक कार्यक्रम गरिएको छ । न्यायको पहुँच नपुगेका महिलाहरूलाई लक्षित गर्दै उत्तरगया गाउँपालिकाले रसुवा महिला सञ्जालमार्फत जिल्लाको बिकट गाउँहरूमा पुगी सचेतना मूलक कार्यक्रम सुरु गरेको हो ।
जिल्लाको विकट मानिने क्षेत्रहरूमा आइतबारदेखि सचेतनाका कार्यक्रम सुरु गरिएको रसुवा महिला सञ्जालकी अध्यक्ष सुनितामाया गुरुङले बताइन् । उत्तरगया गाउँपालिका वडा नम्बर २ खड्गुबाट सचेतनाको कार्यक्रम सुरु गरिएको उनले बताइन् ।
सचेतना कार्यक्रम मार्फत विकट क्षेत्रका नागरिकहरूलाई लैगिंक हिंसा नियन्त्रण, बालविवाह, मदिराजन्य पदार्थको सेवन, घटना दर्ता सम्बन्धी बारेमा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, रसुवा जिल्ला अदालत न्यायाधीश राजेन्द्र नेपाल, श्रेष्ठेदार मुना अधिकारी, जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले सैद्धान्तिक ज्ञानबारे जानकारी दिएका छन् ।
जिल्लाका विकट बस्तीहरूमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, जबरजस्ती करणी, सम्बन्ध विच्छेद, घरेलु हिंसा, सम्पत्तिका कारण हुने हिंसा अझै पनि कायमै रहेको छ । बाहिर नदेखिने तर हिंसाबाट बृद्धबृद्धा, बालबालिका, महिला तथा पुरुषहरू पीडित हुने गरेका पाइएको छ । कानुनको सही रूपमा जानकारी नहुँदा गाउँघरमा हुने घटनाले महिला हिंसा बढिरहेको रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले बताए । बिकट क्षेत्रमा यस्ता कार्यक्रमले चेतना अभिवृद्धि गराउँदै घटना कम हुने उनको भनाई छ ।
बिकट क्षेत्रका नागरिकहरू लेखपढ गर्न नजान्दा आफूले लिने नेपाली नागरिकता लगायतका अन्य परिचय पत्रहरूमा समेत अशुद्धता आउने गरेको र समयमै घटना दर्ता गर्न नजानेहरूका लागि सचेतनामूलक कार्यक्रमले सुसूचित गराउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् ।
बिकट क्षेत्रहरूमा गरिएका सचेतनाका कार्यक्रमले न्यायका लागि नागरिकहरू सचेत बन्दै जाने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । हिंसामा परेका, न्यायको ज्ञान नभएका र न्यायको पहुँचमा नपुगेकालाई लक्षित गरी यो कार्यक्रम गरेकोमा रसुवा महिला सञ्जाललाई धन्यवाद ज्ञापन गरे ।
बिकट क्षेत्रका नागरिकहरूले मादक पदार्थ सेवन गरी हिंसा बढेको, नागरिकता तथा अन्य परिचयपत्रहरूमा अशुद्धता भएको, घरेलु हिंसामा परेको लगायतका समास्याहरूको जिज्ञासा राखेका छन् ।





















प्रतिक्रिया