Logo

राजनीति

सभामुख अर्याल र दक्षिण कोरियाली राजदूत पार्कबिच भेटवार्ता



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटका क्रममा सभामुख अर्यालले विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी क्षेत्रमा दक्षिण कोरियाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए।

उनले नयाँ जनादेशपछि बनेको सरकारले विदेशी लगानी र विकास साझेदारीका लागि नेपालमा थप अनुकूल वातावरण सिर्जना गरेको बताए।

सभामुख अर्यालले नेपाल सूचना प्रविधि र प्राविधिक विकासतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई आईटी तथा प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे।

उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडान सञ्चालनका लागि सहजीकरण गर्न पनि कोरिया सरकारसँग आग्रह गरे। नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म विस्तार भएको उनको भनाइ थियो।

राजदूत पार्कले नेपाललाई कोरियाले महत्त्वपूर्ण विकास साझेदारका रूपमा हेरेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य निरन्तर जारी रहेको जानकारी दिए।

उनका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् भने हाल करिब ५० हजार नेपाली त्यहाँ कार्यरत छन्।

उनले नेपाली श्रमिकले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार संवेदनशील रहेको बताए।

विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको र विशेषगरी ऊर्जा क्षेत्रमा उल्लेखनीय लगानी भइरहेको बताए।

उनले रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिए।

हरित ऊर्जा तथा कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनले बताए।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार २०:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।