अनि मेरै सीमारेखा भित्र परे
कित्ताकाटका टुक्राहरू ।
बुद्धत्वको देश बन्न त अझै
धेरै बाँकी छ – मेरो देश !
अझै बाँकी छन् लाखौँ आमाले
बुद्ध मनका भ्रूणहरू उमार्न
कोख कोखमा ,प्रसवहरू झेल्न बाँकी छन् अनगिन्ती
मेरो देशका मझेरीहरूमा ।
हाँस्न बिर्सेका जननीहरूले
बुद्धत्व जन्मको च्या च्या आवाज सँगै
फुस्काउनै बाँकी छन्
ओठ ओठबाट मुस्कानहरू
र पर्खाइमै छन् सन्तोषका सासहरू ।
मनको तमस कुल्चेर पैताला मुनी
सान्तीको अभिशेष छम्कने ऐरावत
भित्र्याउन बाँकी छ मेरो समताको भूमिमा ,
देवदत्तले बुद्ध मेट्न फ्याकेका चट्टान
अझै बाँकी छ धुलाउन पहाडहरूमा
सद्गुण भर्ने जब्बर शल्यक्रिया त
गर्नै बाँकी छ अङ्गुल मालका मुटुहरूमा।
बुद्धत्वको देश बन्न त
हिमाल जस्तै कन्चन बन्नु पर्छ मनहरू
त्याग्नु पर्छ दम्भहरू
छोड्नु पर्छ लोभ र पापका महलहरू
दिव्य ज्ञानको दीप जलाउनु पर्छ
हरेक सूर्यास्तहरूमा
पिरो मशालको मुस्लो पछिको
कहाली लाग्दो ब्ल्याक आउटको बदलामा
कागजी शिक्षाका प्रमाणपत्रहरू माथि
फुल्नु पर्छ आत्मिक दीक्षाहरू ।
स्वमनले गुरु थाप्नु पर्छ आलोचकहरूलाई ,
अनुशासनको मलजल थप्नु पर्छ
शासनका क्षुद्र चाहनाहरूका कायाकल्पका निम्ति ।
सिद्धार्थ जन्मेर बुद्धको देश बनेको
सीमारेखा भित्रको मेरो भूमि !
अझै बाँकी छ बुद्धत्वको देश हुनलाई,
यसैले शुद्धीकरण गर्नु पर्छ भोगका तृष्णाहरू
हिंसा उन्मुख मन वचन र कर्मका
साँघुरा सुलेकाहरू बदल्नु पर्छ
भाइचारा र वामताका नदीहरूमा
बग्न सक्नु पर्छ दया र मानवताका छाल सँगै ।
बुद्धत्वको देश बनाउन त
उमार्नु पर्छ अझै धेरै बोधिवृक्षहरू माटोमा तपस्या गर्नु पर्छ
सत्य र निष्ठाका अटल आसनका सम्पुट सँग सँगै ।
त्यसैले
कहिले मर्नु हुँदैन माटोको सपना
तुहिनु हुँदैन गर्भहरू जननीका
पूरा हुनु पर्छ बुद्धत्वको खोजी
मेरो कित्तामा परेको बुद्धको देशमा
मेरो कित्तामा परेको बुद्धको देशमा। (डा. अनन्त अधिकरी)
















प्रतिक्रिया