काठमाडौं । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री गरिए पनि उपभोक्ताको भीड हटेको छैन । ग्यास लिन उपभोक्ता दिनभरजसो बिक्री केन्द्रमा लाइन लाग्न बाध्य भएका छन् ।
बिक्रेताबाट सहज रूपमा ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा अतिआवश्यक उपभोक्ताका लागि ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
शनिबार टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धरामा विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । ती केन्द्रबाट ६ हजार ८०२ थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।
आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट ग्यास बिक्री गरिएको थियो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सात बिक्री केन्द्रबाट ९ हजार ५६८ थान सिलिन्डर बिक्री भएको छ ।
निगमले सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ । उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ ।
पछिल्लो चार महिनादेखि आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने व्यवस्था थियो । गत असार ३१ देखि १४.२ किलो क्षमताको पूर्ण सिलिन्डर ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक अभाव देखिएको निगमले जनाएको छ ।
अभावका कारण नियमित बिक्रेताबाट ग्यास नपाएपछि उपभोक्ता निगमले तोकेका बिक्री केन्द्रमा समेत लामो लाइन लाग्न बाध्य भएका हुन् ।















प्रतिक्रिया