उदयपुर । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतका कार्यबाहाक राजदूत नामग्य सी खाम्पाले उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– १० बोक्सेमा नवनिर्मित बालमन्दिर माध्यामिक विद्यालयको भवन संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भारतीय राजदूतावासको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालय परिसरमा निर्माण हुने भवनको एक कार्यक्रमको बीच संयुक्त रुपमा शिलन्यास गरिएको हो ।
परराष्ट्रमन्त्री तथा उदयपुरको निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले मंगलबार शिलान्यास गरेका हुन् ।
भारत सरकारको सहकार्य अन्तर्गत निर्माण हुन लागेको भवन ३ करोड ४० लाख ८० हजारमा थापा निर्माण सेवा प्रा.लि रामेछापले आगामी २०७९ पौष २१ गते सम्म निर्माण गर्ने गरि ठेक्का सम्झौता गरिएको छ । एक हजार बढी विद्यार्थी अध्ययन गर्ने बालमन्दिर माध्यमिक विद्यालयमा २१ कोठे भवन निर्माण हुन लागेको हो । भवन शिलान्यास गर्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधार गुणस्तरीय हुनु पर्ने भएकाले स्थानीयको मागको आधारमा भारतीय राजदूताबाससँग भवन निर्माणको लागि पहल गरेको स्पष्ट पारे ।
आफ्नो पहलमा उदयपुरका अन्य विद्यालयहरुमा पनि भारतीय राजदूताबासको सहयोगमा विद्यालय भवनहरु निर्माण भैरहेको र कतिपय स्थानमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उदयपुरमा पूर्वाधार विकासको क्रम सुरु भएको र विमानस्थल निर्माणले समेत गति लिएको परराष्ट्र मन्त्री खड्काले बताए । डा. खड्काले उदयपुरका नागरिकहरुलाई स्वास्थ्य सेवा दिनको लागि सुविधा सम्पन्न अस्पताल निर्माणको लागि समेत आफ्नो निरन्तर पहल भैरहेको बताए ।
भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले प्रदेश नम्बर १ मा मात्रै ७९ वटा विभिन्न योजनाहरु भारत सरकारको सहयोगमा निर्माण भैरहेको र त्यसमा पनि उदयपुरमा ९ वटा योजनाहरु निर्माण भएको जानकारी दिए । कार्यवाहाक राजदूतले डा. नारायण खड्काले यस क्षेत्रको विकासको लागि भारत सरकारसंग गरिएको पहलको आधारमा सहयोग गरिएको बताए ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उप महानगरपालिका निर्माणको लागि पूर्वाधारहरु जुटाउने काममा लागि परेको बताए । चौधरीले त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुतावासलाई सहयोगको अपिल समेत गरे ।
भवन निर्माणको लागि एक बर्ष अघि नै भारतीय राजदुतावास, संघिय मामिला मन्त्रालय र त्रियुगा नगरपालिका बिच त्रिपक्षिय सम्झौता भै भवन निर्माणको क्रम अघि बढेको भएता पनि कोभिडका कारणले गर्दा शिलन्यासको काम भने पछि हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकासकुमार खड्काले जानकारी दिए ।
भवन निर्माणको लागि सहयोग पुर्याउने परराष्ट्रमन्त्री डा. नारायण खड्का, भारतीय राजदूतावास र त्रियुगा नगरपालिकालाई धन्यवाद समेत दिए । भारतीय राजदूतावासको सहयोगमा भवन निर्माण हुने भएपछि साघुरो भौतिक संरचनामा हुदै आएको पठनपाठन सहज हुने विद्यालयका प्रध्यानध्यापक जंगबहादुर खड्काले जानकारी दिए ।
















प्रतिक्रिया