Logo

समाचार

राष्ट्रिय कलाश्री सम्मान–२०७८’ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई



नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले अमूल्य ’राष्ट्रिय कलाश्री सम्मान–२०७८’ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई प्रदान गरको छ । यस्तै प्रतिष्ठानले रु. १,००,०००।–राशिसहितको ’राष्ट्रिय कलाश्री पुरस्कार– २०७८’ साहित्यकार मञ्जु काँचुलीलाई र रु. ७५,०००।– राशि सहितको ’ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार –२०७८ ’ स्रष्टा एवम् अनुवादक केशव सिग्देललाई प्रदान गरेको छ ।

यसैगरी प्रतिष्ठानले रु. ५०,०००।– राशि सहितको ’बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०७८’ साहित्यिक पत्रकार एवम् स्रष्टा धीरेन्द्र प्रेमर्षिलाई , रु. ६०,०००।–राशि सहितको ’थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७८’ ललितकलाका साधक एवम् मूर्तिकार ओम के.सीलाई र रु. ५०,०००।–राशिसहितको ’पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार–२०७८’ लोकप्रिय गायक शिव परियारलाई प्रदान गरेको छ

प्रतिष्ठानले यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान र रामेशलाई प्रदान गरिसकेएको छ ।

यस्तै राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक र अशेष मल्ललाई प्रदान गरिएको थियो ।

विगत १० वर्षदेखि प्रदान गर्दै आएको ’स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ प्रथम पटक कवि विप्लव ढकाललाई प्रदान गरेको थियो । त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा र ठाकुर बेलवासेलाई प्रदान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले ’बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे र लक्ष्मी उप्रेतीलाई प्रदान गरेको छ। भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री र २०७७ मा विधाता के.सी.ले प्राप्त गरेका छन् । त्यस्तै विगत दुई वर्षदेखि प्रदान गर्न थालिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार क्रमशः शिशिर योगी र मिलन नेवारले प्राप्त गरेका छन् ।

राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रको उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्व परिवेशमा परिचित गराउन प्रतिष्ठान विगत चौध वर्षदेखि समर्पित रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १०:५५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।